काठमाडौं, १७ माघ : अाज पूर्णिमा तिथिमा खग्रास चन्द्रग्रहण लाग्दै छ। व्राजिल, चिली तथा पश्चिमी अफ्रिकी मुलुकहरु बाहेक अधिकांश मुलुकहरुमा प्रष्ट रुपमा यो ग्रहणको प्रभाव देखिने भएको छ ।

नेपाली समयअनुसार साँझ ५ः३२ बजे ग्रहणको स्पर्श हुनेछ। साँझ ६ः३६ बजे ग्रहणको सम्मिलन (चन्द्रबिम्बको पूरै भाग छायामा प्रवेश) हुनेछ भने ७ः१६ बजे ग्रहणको मध्य र ७ः५३ बजे उन्मिलन (चन्द्रबिम्ब छायाबाट निस्कन सुरु) हुनेछ। बेलुकी ८ः५७ बजे मोक्ष हुने ग्रहणको पूरा अवधि ३ घण्टा २५ मिनेट रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

“शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेकलाई बुधबार बिहान ८ बजेर ५५ मिनेटदेखि नै खान निषेध गरिएको छ, ग्रहण लागेपछि सुत्न, हास्यविनोद, मैथुनलगायत काम गर्नुहुँदैन, ग्रहण निमित्तिक देवपूजा, तर्पण आदि भने गर्नुहुन्छ”, गौतमले भने । चन्द्रग्रहण जो कोहिले पनि नाङ्गो आखाले सजिलै नियाल्ने सकिने बताइएको छ । धर्मशास्त्रीय मान्यतानुसार बुधबारको चन्द्रग्रहण वृष, तुला र कुम्भ राशि भएकाहरुले मात्र हेर्नुहुन्छ । यी राशि भएकाहरुले पनि खुला आँखाले ग्रहण हेर्नुहुँदैन । समितिले स्वीकृत गरेका यस वर्षका पञ्चाङ्गमा मेष राशिलाई व्यथा, वृष श्रीप्राप्ति, मिथुन क्षति, कर्कट घात, सिंह खर्च, कन्या लाभ, तुला सुख, वृश्चिक माननाश, धनु कष्ट, मकर स्त्रीपीडा, कुम्भ सुखप्राप्त र मीन राशिकालाई चिन्ताको योग रहेको समितिले जनाएको छ ।

यस वर्षको चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने (सुपर मुन) र ग्रेगोरियन पात्रोअनुसार एकै महिनामा दुई पटक पूर्णचन्द्र देखिने ‘ब्लु मुन’ को योग परेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो दुर्लभ खगोलीय घटना १५२ वर्षपछिको पहिलो अर्थात् सन् १८६६ मार्च ३१ तारिखका दिन देखिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । “बेलुकी ६ बजेर ३६ मिनेटदेखि एक घण्टा १६ मिनेट अर्थात् बेलुकी ७ बजेर ५२ मिनेटसम्म खग्रास चन्द्रग्रहण लाग्छ, त्यसपछि खण्डग्रास हुँदै चन्द्रग्रहण सकिन्छ”, उनले भने ।

चन्द्रग्रहण अफ्रिकाका केही देशबाहेक विश्वभरबाट देख्न सकिने सोसाइटीले जनाएको छ । आधुनिक विज्ञानअनुसार चन्द्रग्रहण हेर्न टेलिस्कोप अथवा अन्य कुनै यन्त्रको सहयोग लिनुपर्दैन । खुला आँखाले पनि हेर्न सकिन्छ । जुनसुकै राशि भएकाहरुले पनि चन्द्रग्रहण हेर्दा वैज्ञानिक आधारमा केही असर नपर्ने सोसाइटीका अध्यक्ष भट्टराईको मत छ । नया पेज बाट