वाम गठबन्धनबीच प्रदेश ७ को मुख्यमन्त्री माओवादी केन्द्रले पाउने सहमति भइसकेको छ । उसकै नेतृत्वमा प्रदेश सरकार बन्ने लगभग निश्चित छ । आधा दर्जन माओवादी नेता मुख्यमन्त्री बन्न आन्तरिक लबिङमा छन् ।

प्रदेश सभामा माओवादीका १४ सांसद छन् । ६ जनाले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका छन् । नेताहरु त्रिलोचन भट्ट, मानबहादुर धामी, वीरमान चौधरी,झपट बोहरा, महेश जोशी र अक्कल रावल मख्यमन्त्रीको आकांक्षी छन् । यीमध्ये डोटीबाट निर्वाचित भट्ट दलको नेता बन्ने प्रवल सम्भावना रहेको स्रोतले जनाएको छ । प्रतिस्पर्धीमध्ये पार्टीमा ‘सिनियर’, पहाडी क्षेत्रमा राजधानीको माग भइरहेकाले अस्थायी मुकाम धनगढीलाई नै कायम राख्नेगरी सन्तुलन मिलाउन धेरै स्थानीय र केन्द्रीय नेता उनको पक्षमा खुल्दै गएका छन् । अर्थमन्त्रालय पार्टीले नै राखेर अर्का आकांक्षी बोहरालाई माओवादीले अर्थ मन्त्रीमा व्यवस्थापन गर्ने सम्भावना छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उता, दार्चुलाबाट निर्वाचित तत्कालीन जनमुक्ति सेनामा उपल्लो तहका कमाण्डर धामीले पनि मुख्यमन्त्रीका लागि सशक्त दाबी गरेका छन् । तर, उनलाई कुनै एक शक्तिशाली मन्त्रालय दिएर व्यवस्थापन गर्ने विकल्पमा छलफल गरेर सर्बसम्मत उम्मेदवार छान्ने आन्तरिक कसरत माओवादीले गरिरहेको छ । कैलालीबाट निर्वाचित वीरमान चौधरी पनि सशक्त दाबेदार हुन । आगामी ३ फागुनभित्र मुख्यमन्त्री नियुक्त गरिसक्नुपर्ने संवैधानिक सीमा छ । प्रदेश ७ मा एमालेका २५, माओवादीका १४, कांग्रेसका १२ र राजपाका २ गरी ५३ सांसद छन् ।

मुख्यमन्त्री माओवादीलाई, एमालेभित्र असन्तुष्टि नेतृत्वले माओवादीलाई मुख्यमन्त्री दिने सहमति गरेपछि एमालेभित्र असन्तुष्टि देखिएको छ । प्रदेशमा ठूलो दल भएकाले केही नेताहरूले मुख्यमन्त्री ताकेका थिए । तर, वाम गठबन्धनमा मुख्यमन्त्री माओवादीले पाउने सहमति गरिएपछि उनीहरू निराश भएका छन् । प्रदेश ४ र ५ भन्दा पार्टीको बलियो उपस्थिति रहेका प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादीलाई दिइँदा आफूहरूमाथि अन्याय भएको एमाले सांसद दीर्घ सोडारीले बताए । ‘बरु ४ र ५ को मुख्यमन्त्री माओवादीलाई दिन सकिन्थ्यो,’ उनले भने, ‘पार्टीको केन्द्रीय निर्णयमा प्रदेश ६ र ७ को प्रभाव कमजोर भएकैले अन्यायमा पारिएको हो ।’

 यस्तो बन्दै छ मुख्यमन्त्री कार्यालय

धनगढी मेनरोडसँगै जोडिएको यातायात व्यवस्था कार्यालय सेतीको नवनिर्मित भवनमा मुख्यमन्त्रीको कार्यालय राखिने भएको छ । कार्यालयको भौतिक पूर्वाधारको तयारी ९० प्रतिशत सम्पन्न भएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख रवीन्द्र बोहराले बताए ।

१० कट्ठा जग्गामा बनेको कार्यालयमै मुख्यमन्त्रीको निवास पनि हुनेछ । ५ वटा बैठकहल र १३ वटा फराकिला कोठा रहेको तीनतले उक्त भवनको माथिल्लो तलामा मुख्यमन्त्रीनिवास रहनेछ ।

सबभन्दा तल्लो तलामा मुख्यमन्त्रीको कार्यकक्ष, दोस्रो तलामा मुख्यसचिवको कार्यकक्ष र तेस्रो तलामा मुख्यमन्त्रीनिवास रहने सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय प्रमुख बोहराले बताए ।

ईनया पत्रिका बाट साभार