भेटमा आफूले अब नेपाललाई राजनीतिक स्थायित्व र बिकास चाहिने र त्यसै अनुसार छिमेकीसँग राम्रो सम्बन्ध बनाएर सहयोग जुटाउने कोसिस गर्ने कुरा राखेको प्रचण्डले बताएका छन् ।
भारतीय विदेश मन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गररेका छन् । शुक्रबार बिहान सोल्टी होटलमा भएको भेटमा स्वराजले प्रचण्डलाई चुनावमा माओवादीले गरेको ‘परफरमेन्स’बारे बधाई दिएकी छिन्।
प्रचण्ड र स्वराजबीच बिहान ९.४० देखि १०.३० सम्म कुराकानी भएको थियो। दुई नेताबीच भएको भेटमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई थप मजवुत बनाउनेबारे कुराकानी भएको बुझिएको छ । स्वराजसँगको भेटपछि संवादतादाहरुसँग बोल्दै प्रचण्डले स्वराजको भ्रमण सद्भाव भ्रमण भएको आफूले पाएको बताए। उनले भने,‘सद्भाव भ्रमणजस्तो मैले बुझेँ, निकै सौहार्द वातावरणमा कुराकानी भयो।’
प्रचण्डले चुनाव पछिको नेपालको परिस्थिति र नयाँ सरकार गठन तयारीका बारेमा स्वराजले जिज्ञासा राखेको बताए। ‘चुनाव पछिको नेपालको परिस्थितिबारे र नयाँ सरकार गठन तयारीका बारेमा सकरात्मक कुराहरु भए,’ उनले भने, ‘उहाँले अब नेपाल कसरी अघि बढ्ला भन्ने केही जिज्ञासाहरु राख्नुभयो ।’ प्रचण्डले चुनाव जितेकोमा आफूहरुलाई स्वराजले बधाई तथा शुभकामना दिएको पनि बताए।
‘राजनीतिक स्थायित्व र बिकास नेपाललाई चाहिन्छ, हामी छिमेकीसँग राम्रो सम्बन्ध बनाएर त्यसमा सहयोग जुटाउने कोसिसमा छौं भन्ने मेरो कुरा रह्यो,’ प्रचण्डले भने,‘उहाँले बिकास र स्थायित्वमा भारतको नेपाललाई पुरा सहयोग हुन्छ भन्नु भयो ।’ नेपालको दुईदिने भ्रमणमा रहेकी स्वराजले आज नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट्ने कार्यक्रम छ। काठमाण्डु टुडे बाट साभार










