काठमाडौं– धनाढ्य व्यापारीहरुसँग निकट हुने र पछि लाखौं रुपैयाँ मागेर 'ब्ल्याकमेल' गर्ने युवतीहरुको समूह राजधानीमा सक्रिय बन्न थालेको छ। त्यस्ता समूहबाट पीडित व्यापारीहरुले प्रहरीमा उजुरी गरेपछि यो रहस्य खुलेको हो।
गिरोहकी एक युवतीलाई प्रहरीले पक्राउ गरिसकेको छ। महानगरीय अपराध महाशाखाले धादिङकी सन्ध्या खड्कालाई पक्राउ गरेको हो। खड्काले एक व्यापारीसँग करिब ४ महिना प्रेमिकाको रुपमा ‘रोमान्स’ गरेकी थिइन्। पछि आफूहरुबीचको सम्बन्ध परिवारलाई भनिदिने भन्दै उनले ब्ल्याकमेल सुरु गरिन्। लाखौं रुपैयाँ माग्दै पैसा नदिए आफूहरुबीचको फोटोसमेत सार्वजनिक गर्ने उनको धम्कीपछि ती व्यापारी आजित बन्दै गए।
अन्तत: उनले प्रहरी गुहारेपछि खड्का पक्राउ परेकी हुन्। उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले विद्युतीय कारोबार ऐनअनुसार कारबाही अघि बढाएको छ। फेसबुकमार्फत ब्ल्याकमेल गरेकाले उनीमाथि विद्युतीय कारोबार ऐनअनुसार कारबाही हुनेछ।
‘उनीहरुको ७ जनाको गिरोह छ भन्ने हालसम्मको अनुसन्धानमा बुझिएको छ,’ अनुसन्धानमा आबद्ध अपराध महाशाखाका एक प्रहरी अधिकारीले भने, ‘योजनाबद्ध रुपमा नै धनाढ्यहरुलाई जालमा पार्ने गरेको देखिन्छ।’
हालसम्म प्रहरीमा ४ जना व्यापारीले उजुरी दिइसकेका छन्। प्रहरीका अनुसार गिरोहमा सुन्दर युवतीहरु छन्, जसले धनाढ्यहरुलाई मात्र आफ्नो जालमा पार्दै लाखौं ठगी गर्ने गरेका छन्।
हनी ट्रापपछि नयाँ गिरोह केही समयअघि व्यापारीलाई ‘हनी ट्राप’मा फसाउने गिरोह सक्रिय रेहको खुलेको थियो।
विभिन्न बहानामा चिनजान गर्ने र आफ्नो डेरामा लैजाने ती युवती आफन्तलाई बोलाएर बलात्कार गर्न खोजेको भन्दै प्रहरीमा उजुरी गर्ने गर्थे। जेल हाल्ने भन्दै उनीहरुले ब्ल्याकमेलिङ गरेर पैसा लिने गरेका थिए।
प्रहरीले त्यस्ता दुई वटा गिरोहलाई पक्राउ गरेको थियो। अहिले युवतीहरुको नयाँ किसिमको गिरोह सक्रिय भएको प्रहरीले जनाएको छ। नेपाललाइभ बाट










