प्रधनन्यायाधीश गोपालप्रसाद पराजुलीको नागरिकताको प्रतिलिपिसम्बन्धी सूचना माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा निवेदन दर्ता भएको छ।
मेडिकल शिक्षाका बेथितिविरूद्ध संर्षरत डा.गोविन्द केसीसहितको समूहले आइतबार जिल्ला प्रशासन कार्यालय तनहुँमा निवेदन दर्ता गराएको हो।
निवेदनमा २०३० साउन २१ मा तनहुँबाट जारी भएको नागरिकताको प्रतिलिपी, नागरिकता उपलब्ध गराउँदाका मिसिल कागजपत्र, २०५३ सालमा जारी भएको सोही नागरिकताको प्रतिलिपी माग गरिएको छ। यस्तै काठमाडौंबाट जन्ममिति २०१० बैशाख १६ कायमगरी २०६७ सालमा पुनः निकालिएको प्रतिलिपीको तथ्य सूचना समेत माग गरिएको छ।
फरक फरक विवरणका आधारमा प्रशासनले जारी गरेका दुवै नागरिकताको सत्यतथ्य उपलब्ध गराउन उनीहरूले माग गरेका हुन्।
निवेदनमा डा.केसीसहित डा.अभिषेकराज सिंह, अधिवक्ता ओमप्रकाश अर्याल, प्रकाशचन्द्र परियार, मनोजकुमार अधिकारी, प्रितम सुवेदी र सागर घिमिरेले हस्ताक्षर गरेका छन्।
जिप्रका तनहुँमा दर्ता नम्बर ३१५ रहेको उक्त निवेदन दर्ता भएको प्रशासकिय अधिकृत सुरेश ढकालले नेपालखबरलाई बताए। निवेदन दर्ता भएको जानकारी दिँदै उनले भने, ‘निवेदन लिएको हो।’ अधिवक्ता अर्यालले सार्वजनिक पदधारण गरेका व्यक्तिको विषयमा सत्यतथ्य सूचना पाउने नागरिकको अधिकार अन्र्तगत निवेदन दर्ता भएको उल्लेख गरे। नेपाल खबर बाट










