काठमाडौं- माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ।
निर्वाचन आयोगले मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका उम्मेदवार, दलका पदाधिकारी, नागरिक समाज, आम मतदाताले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाइने बताएको छ।
आयोगले सञ्चारमाध्यमले समेत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार प्रकाशन तथा प्रसारण नगर्न सबैमा आग्रह गरेको छ। तर मतदाता शिक्षाका सामग्री, सूचना वा सन्देश प्रवाह गर्न भने रोकावट नभएको आयोगको भनाइ छ।
मौन अवधिमा पालना गर्नुपर्ने नियम १. निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने। २. मौन अवधि सुरु हुनुअघि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने। ३. एसएमएस, फेसबुक, भाइबरजस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने। ४. मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने।










