काठमाडौँ- संविधानप्रदत्त ७ वटै प्रदेशको प्रदेशसभाको धमाधम सुरु हुन थालेका छन्।

संघीयता कार्यान्वयनको महत्वपूर्ण आधारका रुपमा रहेको प्रदेशसभाका सबै बैठकले पहिलो चरणमा सभामुख चयनलाई नै पहिलो कार्यसूची बनाएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेशसभाका बैठक व्यवस्थापिका–संसद्को बैठकझैँ संसदीय विधि र प्रक्रियाअनुसार नै चलाइएको छ। नेपालको केन्द्रीकृत शासन प्रणालीलाई विकेन्द्रित बनाउने र अधिकार सम्पन्न प्रदेशसभा गठन गर्ने लक्ष्यका साथ गत मंसिर १० र २१ गते सम्पन्न निर्वाचनले राजनीतिक दलका आकार र प्रकारसमेत स्पष्ट पारिसकेको छ।

नेपालको राजनीतिक इतिहासमा आजको दिन महत्वपूर्ण रह्यो। प्रदेशसभा सचिवालयका अनुसार आज प्रदेश नं २, ५, ६ र ७ नम्बर प्रदेशको प्रदेशसभाको पहिलो बैठक बस्यो। सबै प्रदेशसभाको बैठकले सभामुख चयनको कार्यसूची तय गरेको छ।

यही माघ १८ गतेको बैठकले प्रदेश ३ को सभामुख चयनका लागि माघ २७ गतेको मिति तय गरिएको छ। आज बसेको प्रदेशसभाको बैठकले प्रदेश १ माघ २९ गते, प्रदेश २ आगामी फागुन २, प्रदेश ४ मा आगामी फागुन ३ सम्भावित, प्रदेश ५ आगामी फागुन २ गते, प्रदेश ६ मा माघ २९ र प्रदेश ७ माघ २९ गते सभामुख चयन गर्ने कार्यसूची तय गरिएको छ।

प्रदेशसभाका बैठकले सभामुखको चयनको मुख्य कार्यसूची तय गरेपछि प्रमुख राजनीतिक दलकाबीचमा समेत छलफल प्रारम्भ भएको छ। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीचमा भएको सहमतिअनुसार प्रदेश नं १, ३, ६ र ७ को सभामुखमा एमालेले उम्मेदवारी दिनेछ भने प्रदेश नं ४ र ५ मा भने माओवादी केन्द्रले सभामुखमा उम्मेदवारी दिने सहमति भएको छ।

प्रदेश नं १ को सभामुखमा एमाले र उपसभामुख माओवादी केन्द्रका तर्फबाट चयन हुने सहमति यसअघि नै भएको छ। एमाले सचिव भीम आचार्य मुख्यमन्त्रीको आकांक्षी छन्। सोही पार्टीका अर्का नेता शेरधन राईसमेत मुख्यमन्त्रीको आकांक्षी भएकाले सभामुखको उम्मेदवार टुंगो लागिसकेको छैन। दुई दलीय कार्यदलले सभामुख चयनमा यसअघि नै सहमति जुटाएको हो।

प्रदेश नं २ मा भने राष्ट्रिय जनता पार्टीले सभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ। सभामुख चयनका सम्बन्धमा छलफल जारी रहेको र केही दिनभित्रै उम्मेदवार चयन गरिने राजपाका महासचिव मनिष सुमनले जानकारी दिए। सुमन स्वयं पनि सभामुखको दाबेदार हुन्। सो प्रदेशमा मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालले दाबी गरेको छ।

प्रदेश नं ३ को सभामुखमा हालका ज्येष्ठ सदस्य डोरमणि पौडेलको सम्भावना नै बढी रहेको एमाले नेताहरुको भनाइ छ। सबैभन्दा बढी प्रदेशसभा सदस्य रहेको सो प्रदेशमा यही माघ २७ गते सभामुख चयन गर्ने कार्यसूची रहेको छ।

यस्तै प्रदेश नं ४ मा माओवादी केन्द्रका तर्फबाट पूर्वमहिला बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला मुख्य प्रतिस्पर्धी छिन्। यस्तै गोरखाबाट प्रदेशसभा सदस्यमा निर्वाचित लेखबहादुर थापाले पनि सभामुखका लागि आकांक्षा व्यक्त गरेका छन्।

यस्तै प्रदेश नं ५ मा मुख्यमन्त्री एमालेले र प्रदेश सभामुख माओवादीले पाउने सहमति वाम गठबन्धनबीच भइसकेको सन्दर्भमा गुल्मीबाट निर्वाचित सुदर्शन बराल, पूर्व रुकुमबाट निर्वाचित पूर्ण घर्तीले इच्छा व्यक्त गरेका छन्। त्यस्तै, रूपन्देहीका दधिराम न्यौपानेले पनि सभामुखका लागि इच्छा व्यक्त गरेको भए पनि पार्टीले गर्ने निर्णयलाई पूर्णरुपमा कार्यान्वयन गर्ने उनीहरुको भनाइ छ।

प्रदेश नं ६ को मुख्य मन्त्री माओवादी केन्द्रले पाउने सहमति भएकाले सभामुखमा एमाले हालसम्म आधिकारिक उम्मेदवार टुंगो लगाएको छैन। सो प्रदेशमा मुख्यमन्त्रीका लागि माओवादी केन्द्रका तर्फबाट महेन्द्रबहादुर शाही र नरेश भण्डारी चर्चामा छन्। पार्टीले गर्ने निर्णयलाई स्वीकार गर्ने शाहीको भनाइ छ।

यस्तै प्रदेश नं ७ मा पनि मुख्यमन्त्री माओवादी केन्द्रको भागमा परेकाले सभामुखमा एमालेको तर्फबाट नै उम्मेदवारी दिने तयारी छ। एमालेको तर्फबाट कञ्चनपुरबाट निर्वाचित तारालाल तामाङ, बझाङबाट निर्वाचित अर्जुन थापाको चर्चा रहेको छ। तर आधिकारिक निर्णय भने हुन बाँकी रहेको छ।

मुख्यमन्त्रीमा भने माओवादी केन्द्रले डोटीबाट निर्वाचित त्रिलोचन भट्टलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।रासस