काठमाडौं– एक अपराधीलाई पक्राउ गर्न आएका दुई भारतीय प्रहरी नेपालमा पक्राउ परेका छन्। एक सई र एक हवल्दार सुनसरीमा पक्राउ परेका हुन्। उनीहरुबाट २ वटा पेस्तोल र ८० राउन्ड गोली फेला परेको छ।
बिहारको मधुवनी जिल्लाको लौकही प्रहरी थानामा कार्यरत सई राम आशिष कच्ची र हवल्दार बजेन्द्र शर्मालाई सुनसरी प्रहरीले पक्राउ गरेको हो। एक अभियुक्तलाई पछ्याउँदै उनीहरु नेपाल आएका थिए।
सुनसरीको कोशी नगरपालिका–९ तीनकुने भन्ने स्थानबाट उनीहरु पक्राउ परेका हुन्। स्थानीयहरुसँग विवाद भएपछि उनीहरुलाई पक्राउ गरिएको स्रोत बताउँछ। विवाद भएपछि उनीहरुले पेस्तोल देखाएर धम्क्याएका थिए।
उनीहरु सिभिल ड्रेसमा नेपाल आएका थिए। स्थानीयसँग विवाद भएपछि नजिकैको सशस्त्र प्रहरी बलले उनीहरुलाई नियन्त्रणमा लिएर सीमा प्रहरी चौकी भण्टाबारीलाई जिम्मा लगाएको हो।
भारतीय प्रहरीहरु झुक्किएर नेपाली भूमिमा प्रवेश गरेकाले नियन्त्रणमा लिइएको सुनसरीका निमित्त प्रहरी प्रमुख डिएसपी नारायण चिमोरियाले बताए।
स्थानीयलाई पेस्तोल देखाएर धम्क्याएको उजुरी परे पनि उनीहरुलाई दबाबमा प्रहरीले छाड्ने तयारी गरेको छ।










