एकजना गोर्खा सैनिक बेलायती सेनाको उच्च तहमा पुग्न सफल भएका छन् । ५० वर्षीय टोल खाम्चा मगर गत बिहीबार लेफिटनेन्ट कर्णेल पदमा पदोन्नति भएका हुन् । उक्त पद बेलायती सेनाको छैटौं वरीयतामा छ ।
१ फेब्रुअरीमा अल्डरसटस्थित रिजनल कमाण्ड हेडक्वार्टरमा औपचारिक घोषणापछि खाम्चालाई अहिले बधाइ ग्रहण गर्दैमा भ्याइ नभ्याइ छ। ‘भाग्य, खुबी, मिहिनेत र कामप्रति इमान्दार नै मेरो सफलताको कारण होला’, खाम्चाले आइतबार कान्तिपुरसँग भने, ‘म एकदम खुसी छु। यो प्रमोसन असम्भव त थिएन तर सिपाहीदेखि भर्ती भएर यहाँसम्म आइपुगिएला भन्ने सोचेकै थिइनँ।’ उनको पदावधि अब करिब ५ वर्ष हुनेछ। ‘रिटायर्ड हुँदा नेपाल र नेपालीको इज्जत राखेर फर्कन्छु’, उनले सुनाए।
ब्रिटिस सेनामा गोर्खा भर्ती सुरुआतको झण्डै २०२ वर्ष अवधिमा खाम्चा उच्च तहमा पुग्ने चौंथो नेपाली हुन्। यसअघि उक्त पदमा लालबहादुर पुन, विजय रावत र यामबहादुर राना पुगे पनि उनीहरु अहिले रिटायर्ड भइसके।
स्याङ्जा शिरकोट करादीमा जन्मिएका उनले प्राथमिक तह गाउँमै पढे। बुटवलबाट एसएलसी। उनका बावु पनि दोस्रो विश्वयुद्ध लडेका योद्धा थिए। तर, बावु आर्मीमा लागे ‘घर न घाट’को भइन्छ भन्ने ठान्थे। छोरालाई कानुन पढाउने बावुको इच्छाविपरीत खाम्चा पुल्चोक इन्जिनियरिङ क्याम्पस भर्ना भए। कलेजका साथीहरु भर्ती हुन जाने हल्ला सुनेपछि उनी पनि पछि पछि लागे। ‘म शारीरीक रुपमा त्यस्तो दरिलो पनि थिइनँ तर भाग्य र साथीको संगतले आर्मीमा भर्ती गरायो’, उनी विगत सम्झन्छन्।
सन् १९८७ जनवरीमा आर्मी भर्ती भए उनी। खाम्चाको पल्टन क्विन्स् गोर्खा सिग्नल भए पनि अहिले बाहिर बसेर काम गरिरहेका छन्। सेवाका दौरान खाडी युद्धमा साउदी अरब पुगे। कोसोभो, टर्की, इराक, अफगानिस्तानलगायत कयौं देश खटिए। अमेरिकाले सन् २००३ मा इराक हान्दा खाम्चा अमेरिकी र ब्रिटिस सेनासँग मिलेर कतारमा योजना बनाइरहेका थिए। कान्तिपुर दैनिकबाट










