काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाएमालेसँग हुन लागेको पार्टी एकतालाई भाँड्न अनेक खेल भइरहेको बताएका छन् । ‘एकता प्रक्रियालाई बिथोल्न सकिन्छ कि भनेर अनेकन प्रयत्न भएका छन्’, उनले बिथोल्नेहरुको पहिचान नखुलाई भने, ‘त्यस्ता कुनै पनि प्रयन्तलाई असफल पारेर नेपाली जनताको चाहनाबमोजिम एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन हामी प्रतिबद्ध छौँ ।’

अाजको अन्नपूर्णमा खबर छ-अखिल क्रान्तिकारीको केन्द्रीय पदाधिकारीसँग आइतवार आफ्नै निवास खुमलटारमा छलफल गर्दै अध्यक्ष दाहालले जनअपेक्षाविपरीत जाने छुट कोही कसैलाई पनि नभएकाले पार्टी एकता जुनसुकै हालतमा नै हुने विश्वास व्यक्त गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एकता प्रक्रियाबाट बाहिर जाने छुट कोही कसैलाई पनि नभएकोमा दाहालले जोड दिए । ‘एमाले र माओवादी केन्द्रले पछाडि फर्केर जाने पुल भत्काइसकेका छन् । अब पछाडि फर्कने ठाउँ छैन’, उनले भने ।

पार्टी एकता हुँदैन कि भन्ने अनेकन हल्ला चलिरहेकोतर्फ संकेत गर्दै उनले दुई ठूला पार्टीका बीचमा अगाडि बढेको सहअस्तित्वसहितको एकताका विषयमा आएका नकारात्मक टिप्पणीको कुनै अर्थ नभएको बताए ।

‘भाँड्ने प्रयास भएका छन् । एमाले अध्यक्ष केपी ओली र म आफैँ स्वयं एकताको पक्षमा दृढताका साथ उभिएकाले कुनै पनि अवरोधले अगाडि बढिसकेको प्रक्रिया रोकिँदैन’, अध्यक्ष दाहालले भने ।

एमाले नेतृत्वसँग सार्थक बहस र छलफल भइरहेको जानकारी दिँदै अध्यक्ष दाहालले सरकार गठन हुनुभन्दा पहिले नै पार्टी एकतालाई तार्किक निष्कर्षमा पुर्याउन पहल भइरहेको बताए । ‘सकेसम्म सरकार गठन हुनुभन्दा पहिले नै एकता गर्नुपर्छ भन्नेमा केपी ओली र म दुवै लागिपरेका छौँ’, उनले भने ।

भेटमा सहभागी अखिल क्रान्तिकारीका उपाध्यक्ष वीरेन्द्र बस्नेतका अनुसार एकता घोषणा समारोहलाई भव्य बनाउने विषयमा समेत दुई पार्टीबीचमा छलफल भइरहेको अध्यक्ष दाहालको भनाइ थियो ।