काठमाडौं, माघ २२ । फागुन दोस्रो साता मुलुकले नयाँ प्रधानमन्त्री पाउने सम्भाबना प्रबल छ । कुनै अस्वभाविक घटना नभए नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन दोस्रो साता फेरि प्रधानमन्त्री हुँदैछन् । आमनिर्वाचनको नतिजासँगै कामचलाउ भइसकेका अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको बहिर्गमनसँगै ओली प्रधानमन्त्री हुने निश्चित जस्तै भएको हो ।

राष्ट्रियसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै नयाँ सरकार गठनको औपचारिक प्रक्रिया सुरु हुनेछ । बुधबार राष्ट्रियसभा निर्वाचन भएपछि बिहीबारै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ । राष्ट्रियसभासँगै समानुपातिकको पनि परिणाम सार्वजनिक भएपछि नयाँ सरकार निर्माण प्रक्रियाले गति लिने छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

समानुपातिकको नजिता रोकिएका कारण प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको दुई महिना बित्दा पनि नयाँ सरकार गठन हुन सकेको छैन । निर्वाचन आयोगले निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत प्राप्त दललाई सरकार निर्माणका लागि आह्वान गर्ने छिन् ।

संविधानको धारा ७६ ले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ। कुनै एक दलको बहुमत नभए दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ।

एमाले र माओवादी केन्द्रको समर्थनमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुने निश्चित छ । नेपालपत्र बाट साभार