इटहरी, २२ माघ– एमाले प्रदेश नं १ संगठन कमिटीले संसदीय दलको नेता चयनका लागि २६ माघमा संसदीय दलको बैठक राखेको छ । प्रदेश संसदीय दलको नेतामा सहमति हुन नसकेपछि इटहरीमा बसेको प्रदेश संगठन कमिटीको बैठकले २६ गतेका लागि संसदीय दलको नेता चुन्न संसदीइ दलको बैठक डाकेको हो ।

दलको नेता चयन गर्न अधिवक्ता चुडामणि आचार्य, टीकाराम पुरी र प्रेम पोखरेल रहेको ३ सदस्यीय निर्वाचन कमिटी गठन गरेको छ । प्रदेश संसदीय दलको नेताका लागि पूर्वमन्त्री शेरधन राई, भीम आचार्य र केन्द्रीय सदस्य जीव्न घिमिरे प्रतिस्पर्धी छन् । तीनैजना आकांक्षीले संसदीय दलको नेतामा दावी नछोडेपछि निर्वाचनमा जान लागेको हो ।

एमाले स्थायी समितिले सकेसम्म सर्वसम्मत रुपमा संसदीय दलको नेता चुन्न र सहमति नभए निर्वाचनबाट चुन्न निर्देशन दिइसकेको छ । प्रदेश संसदीय दलको नेता नै उक्त प्रदेशको मुख्यमन्त्री बन्नेछन् । एमालेले वाम गठबन्धनबाट मुख्यमन्त्रीको भाग पाएका प्रदेश १, ३, ४ र ५ मध्ये प्रदेश ५ मा स्थायी समिति सदस्य शंकर पोखरेल संसदीय दलको नेता निर्वारोध चयन भइसकेका छन् । प्रदेश १, ३ र ४ मा भने एक भन्दा बढि आकांक्षी देखिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड