कास्की । पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत नेविसंघका बोधराज ढकालको मृत्यु भएको विषयले हिंश्रक रुप लिन थालेको छ ।

सोमबार साँझ क्याम्पस अगाडि नगर बसले ठक्कर दिँदा ढकालको मृत्यु भएको थियो । उक्त घटनाको विषयलाई लिएर नेविसंघका कार्यकर्ताले मंगलबार बिहानैदेखि क्याम्पस क्षेत्रमा प्रदर्शन गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विरोधमा उत्रिएका नेविसंघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिनका लागि अन्धाधुन्ध लाठी प्रहार गरेपछि विद्यार्थीहरु झन् आक्रामक भएका छन् ।

आधा दर्जन भन्दा बढी विद्यार्थीलाई प्रहरीले लाठी हानेर घाइते बनाएको छ ।

मृतकका परिवारलाई राहतको माग गर्दै विरोधमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले दमन गरेको भन्दै नेविसंघले आपत्ति जनाएको छ ।

लगातार आन्दोलन भएपछि त्यहाँको जनजीवनमा समेत प्रभाव परेको प्रहरीले जनाएको छ ।

क्याम्पसबाट टायरमा आगो बालेर विद्यार्थीले विद्युतको तारमा फाल्दा आगो लाग्ने सम्भावना बढेपछि विद्युत प्राधिकरणले बत्ति काटिदिएको छ ।

विद्यार्थीले हानेको सिसाले एक सुरक्षाकर्मीको निधारमा गम्भिर चोट लागेर घाइते भएपछि उनलाई उपचारार्थ अस्पताल लगिएको छ ।

क्याम्पस आसपासका सम्पूर्ण पसल बन्द छन् भने परिस्थिति असहज भएको छ ।