सुर्खेत, २३ माघ । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले नेकपा (एमाले) र माओवादी केन्द्रबीच औपचारिकतामा बाहेक पार्टी एकता भइसकेको बताएका छन् ।

प्रेस सेन्टर प्रदेश नम्बर ६ सुर्खेतद्वारा मंगलबार यहाँ आयोजित कार्यक्रममा उनले भने, “अब एकता घोषणा हुन मात्र बाँकी छ, त्यसका लागि सकारात्मक छलफल भइरहेको छ, दुवै पार्टीका नेताहरुको कार्य विभाजन भएपछि एकताको मिति घोषणा हुनेछ ।”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेता शर्माले एकताबाट बन्ने पार्टीको अध्यक्षको विषयमा दुवै पार्टीका अध्यक्षबीच सकारात्मक छलफल भइरहेको बताउँदै एकता प्रक्रिया जनअनुमोदित भइसकेकाले यसमा कुनै शंका नगर्न आग्रह गरे ।

“पार्टीको एकताको विपक्षमा जाने छुट कसैलाई छैन” उनले भने, “भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले एकतामा कुनै प्रभाव पार्ने छैन् ।”

माघ २५ गते मुख्यमन्त्रीको टुङ्गो लाग्ने निश्चित

पत्रकार भेटघाट कार्यक्रममा नेता शर्माले माओवादीको भागमा परेको प्रदेश नम्बर ६ को मुख्यमन्त्रीको टुङ्गो माघ २५ गते निश्चित रुपमा लाग्ने बताउँदै यसको टुङ्गो लगाउन पार्टीको विधि पद्धतिअनुसार अघि बढ्ने धारणा व्यक्त गरे । मुख्यमन्त्री छनोटका लागि सहजीकरण गर्न आफू सुर्खेत आइपुगेको पनि उनले जानकारी दिए ।

त्यस्तै नागरिकको भूमिका रुपमा परिचय दिइएको ६ नम्बर प्रदेशलाई नेता शर्माले सुनको डल्लाका उपमा दिए । “प्रदेश नं. ६ सुनको डल्ला हो, गहना बनाउने कालिगढको आवश्यक छ, त्यसको भूमिकामा प्रदेश नं ६ को सरकार रहुनुपर्दछ र हामी पनि तम्तयार हौँ”, उनले भने ।

नेता शर्माले भने, “५२ प्रतिशत गरिबी, न्यून प्रतिव्यक्ति आय, कम औसत आयु भएको प्रदेशलाई सम्पन्न बनाउनु चुनौतीपूर्ण त छ नै तर पनि यसलाई सामना गरी अघि बढेर धनी प्रदेशमा रुपान्तरण गर्न दृढ संकल्पित छौँ ।” –रासस