सरकार गठनका लागि संवैधानिक अड्चन बनेको राष्ट्रियसभा निर्वाचन सम्पन्न भएसँगै अब नयाँ सरकार गठनको ‘काउनडाउन’ शुरु भएको छ ।
राष्ट्रियसभा निर्वाचन सम्पन्न नभई निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्न नमिल्ने बताएपछि नयाँ सरकार गठनमा ढिलाइ भएको थियो ।
बुधवार राष्ट्रिय सभाको निर्वाचन भइरहेको छ । यस निर्वाचनको मतगणना बिहीवार बिहानसम्ममा सम्पन्न गर्ने आयोगको तयारी छ । ‘मतगणनामा लफडा भएन भने २६ गते राष्ट्रियसभा निर्वाचनको नतिजा राष्ट्रपतिलाई बुझाउने तयारी छ,’ आयोग स्रोतले लोकान्तरसँग भन्यो ।
२६ गते नै आयोगले प्रतिनिधिसभा निर्वाचनमा समानुपातितर्फ दलहरुले पाएको सीट संख्या निर्धारण गरेर तीन दिनभित्र समावेशी सूची आयोगमा पेश गर्न दलहरुलाई पत्राचार गर्ने तयारी गरेको छ ।
२८ गतेसम्म राजनीतिक दलहरुबाट समानुपातिक सांसदको सूची आउने र बन्दसूची अनुसार नआएमा सच्चाउनका लागि थप दुई दिनको समय दिने आयोगको तयारी छ ।
‘यसबीचमा कुनै अड्चन नआए फागुन ३ र ढिलोमा फागुन ५ गते प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण नतिजा राष्ट्रपतिलाई बुझाउने तयारी छ,’ आयोग स्रोतले भन्यो ।
निर्वाचनको अन्तिम नतिजा राष्ट्रपतिलाई छिटो बुझाउन भन्दै आयोगले प्रतिनिधिसभा निर्वाचन निर्देशिका संशोधन गरेर ५ दिनमा छोट्याएको थियो । यसअघि दलहरुलाई शुरुमा ७ दिन र सच्चाउन ३ दिनको समय दिने व्यवस्था थियो ।
यस्तो छ प्रधानमन्त्री नियुक्ति प्रक्रिया
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण नतिजा बुझाएपछि राष्ट्रपतिलाई प्रधामनन्त्री नियुक्तिको बाटो खुल्नेछ ।
संविधानको धारा ७६ को उपधारा १ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने व्यवस्था छ ।
प्रतिनिधिसभामा कुनै दलको एकल बहुमत ल्याउन रहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
तालमेल गरेर चुनावमा गएका एमाले र माओवादी दुई तिहाइ बहुमतनजिक छन् । संविधानको धारा ७४ को उपधारा ४ अनुसार यसरी राष्ट्रपतिले नियुक्त गर्ने प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्सावको मत प्राप्त गर्नु पर्नेछ ।
नयाँ सरकारको नेतृत्वका लागि एमाले अध्यक्ष केपी ओली निर्विकल्प उम्मेदवार हुन् । एमालेसँग स्पष्ट बहुमत नभए पनि माओवादी केन्द्रले आफ्ना सांसदहरुको समेत हस्ताक्षर बुझायो भने राष्ट्रपतिले एमाले संसदीय दलको नेतालाई प्रधामनन्त्री नियुक्त गर्नेछिन् । त्यसअगावै एमाले र माओवादीले संसदीय दलको नेता छान्नुपर्ने छ । एमाले संसदीय दलको नेता ओली नै हुने लगभग निश्चित छ ।
निर्वाचन आयोगको तयारी हेर्दा फागुन १० अगावै सरकार बन्ने सम्भावना छ ।
उपप्रधानमन्त्री समेत रहेका राप्रपा अध्यक्ष कमल थापाले वर्तमान सरकारको आयु फागुन पहिलो सातासम्म मात्र रहेको बताइसकेका छन् । लोकान्तर बाट साभार










