रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ को मुसहर बस्तीमा रामकली देवी हजारा पासवानले दशकौं घाम–पानी खेपिन्। त्यो घाम–पानी जीवन भोगाइ र प्रकृति दुवैको थियो।

रामकलीले बल्ल यो उमेरमा आएर ‘भगवान्’ भेटिन्, जसले उनलाई बस्नका लागि भरपर्दो घर दिलाए। बाल्यकालदेखि देखेको सपना १०६ वर्षमा आएर पूरा हुँदा उनी दंग छिन्। उनको सपना पूरा गरिदिने भगवान् हुन्, सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सन्तपुर नमुना एकीकृत बस्तीमा मंगलबार उनीसँगै ४७ परिवारका लागि निर्मित घरहरुको साँचो हस्तान्तरणपछि नयाँ घरमा सर्न आतुर रामकलीको अनुहार खुसीले धपक्क बलेको देखिन्थ्यो।

फर्केर हेर्दा फुसले छाएको र माटोले लिपेको सानो झुपडीमा रामकलीसँग नमीठा अनुभव मात्र छन्। चैत–बैशाखको हुरी होस् या हिउँदको शीतलहर, उनले त्यही झोपडीमा बिताइन्। वर्ष बिराउँदै आउने बाढी र डुबानका चोटहरु पनि नियमित नै थिए।

त्यो चोटमाथि पारिवारिक बज्रपात पनि सानो थिएन।

सानै उमेरमा विवाह गरेकी उनले ४ छोरी र १ छोरालाई जन्म दिएको केही समयमै श्रीमान् गुमाइन्। ज्याला र मजदुरी गरेर गाँसको जोहो गर्ने सारथी गुमाउँदा पनि उनले जेनतेन घर–व्यवहार सम्हालेर छोरा–छोरीको बिहेबारी समेत पार लगाइन्। यस्तैमा उनले एकमात्र छोरो पनि गुमाउनुपर्‍यो।

पति र छोरा गुमाएर दुवै हात भाँचिएपछि उनले परिवारलाई २ गाँस खुवाउन अनेक संघर्ष गरिन्। त्यस्तो स्थितिमा उनले एउटा ढुक्कको घर बनाउने सपना त परको कुरा, चाडपर्वमा मुख फेर्न मीठो मसिनो खुवाउने र सन्तानलाई शिक्षाको उज्यालो दिने सोच र हिम्मत समेत जुटाउन सकिनन्।

नाति राजाराम हजारा र नातिनी बुहारी सुगन्धीदेवी हजारासँग बस्दै आएकी रामकलीले  गत वर्षायाममा ठूलो क्षति बेहोरिन्। वर्षाले तराई जलमग्न हुँदा रामकली जस्तै कैयौं गरिबको बास उजाडियो। बाढीबाट रामकलीसहित सन्तपुरका ४७ माझी परिवारको बस्ती एकाएक बगर बन्यो।

प्रकृतिले दिने यस्तो अन्याय यहाँका बासिन्दका लागि नौलो भोगाइ पनि थिएन। उनीहरु पुर्पुरोमा हात राखेर शोखा शम्भुनाथ (भगवान् भरोसा) मै फेरि बाँच्ने मेलो कष्टपूर्वक अघि बढाउँथे। तर, यस पटक भने हास्य कलाकार धुर्मुस र सुन्तलीको परोपकारी दृष्टि परेपछि माझी बस्तीको मुहार फेरियो।

नवनिर्मित सुन्दर बस्तीमा घर नम्बर ४५ लेखिएको बोर्डमुनि हँसिलो चेहरामा नातिको परिवारसँग बसेकी रामकलीलाई यो खुसी कसरी साट्नुहुन्छ भनेर हामीले सोध्यौं।

उनले मातृभाषामा मन्द मुस्कानसाथ भनिन्, ‘यी दुई (धुर्मुस र सुन्तली) शोखा शम्भुनाथ बनेर हामीमाझ आए। अब दुखःका दिन सकिए।’

यसैमा थप्दै नातिनी बुहारी सुगन्धा भन्छिन् ‘अहिलेसम्म सबै कुराको समस्या थियो। भगवान् जस्ता धुर्मुस–सुन्तली आएर घर बनाइदिए। अब काम गर्दै बालबच्चालाई पढाउन सहज हुने भएको छ।’

धुर्मुस र सुन्तलीले बाढी प्रभावित स्थानहरुमा उद्धार र राहत वितरण गर्ने क्रममा सन्तपुरवासीको पीडा देखेपछि सहयोग रकम जुटाउँदै गत असोज २८ बाट एकीकृत बस्ती निर्माण सुरु गरेका थिए।

अनेक अवरोध छिचोल्दै धुर्मुस सुन्तली फाउन्डेसनले ४७ परिवारका लागि १ सय १५ दिनमा कुल ५ करोड ९४ लाख ८७ हजार ३ सय ९५ रुपैयाँको लागतमा बस्ती निर्माण गरी हस्तान्तरण गरेका हुन्।

बस्तीमा वृद्धा रामकलीका आँखामा मात्र खुसी चम्किएको छैन, बस्तीका ९० बालबालिकाले आफ्नै ठाउँमा आधारभूत विद्यालय पाएर सपना देख्ने बाटो पाएका छन्।

सन्तपुर बस्तीका भगवान् बनेका धुर्मुस यो बस्तीको निर्माण सफलतापछि के भन्छन् त?

उनले उत्साहित हुँदै सुनाए, ‘हिजो मदिरा र कुलतले लट्ठ पर्नेहरु पनि आज धुर्मुस र सुन्तलीसँग मदिरा र कुलतमा कदापि नलाग्ने प्रण गरिरहेका छन्। हिजो नयाँ मान्छे आउँदा अप्ठेरो मानेर शिर झुकाउने बासिन्दा आज स्वागतका लागि आतुर देखिन्छन्।’नेपाललाइभ