चितवन- नारायणगढबाट पोखरातर्फ जादैँ गरेको दूध बोक्ने ट्यांकर त्रिशूली नदीमा खस्दा २ जनाको मृत्यु भएको छ।
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नं. २९, गाईघाटमा विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएर दुध ट्यांकर त्रिशुली नदीमा खसेको हो।आज बिहान ५ः५५ मा भएको सो दुर्घटनामा परी ट्यांकरका चालक र सहचालकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिए।
उनका अनुसार मृतकको शव नदीबाट निकालिएको र पोष्टमार्टमका लागि भरतपुर अस्पतालतर्फ लैजाने तयारी भइरहेको छ। मृतकको सनाखत भने हुन सकेको छैन।
नारायणगढबाट पोखरातर्फ जाँदै गरेको बा ४ ख ६९५३ नम्बर दूधको ट्यांकर विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ४३१४ नम्बरको ट्रकसँग ठक्कर खाएको थियो। ट्यांकर सडकबाट करिब १ सय मिटर तल खसेको र थोरै भाग मात्र पानीबाहिर देखिएको ट्राफिक प्रहरी प्रमुख पन्तले बताए।
नदीमा खसेको ट्यांकरलाई पनि निकाल्ने तयारीमा रहेको उनले जानकारी दिए। ठक्कर दिने ट्रक प्रहरी नियन्त्रणमा रहे पनि चालक भने फरार भएका छन्।
नेपाललाइभ बाट साभार









