नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले फागुन दोस्रो हप्तासम्ममा नयाँ सरकार बन्ने बताएका छन् । बिहीबार गृह जिल्ला झापा पुगेका शर्माले बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा शुक्रबार(भोली) साँझ सम्ममा सरकार हस्तान्तरणको मितिको टुङ्गो लाग्ने बताए ।

‘अब बन्ने सरकार बहुमतको आधारमा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा बन्नेछ, म भावी प्रधानमन्त्री केपी ओलीलाई झापा जिल्लाबाट नै शुभकामना दिन चाहन्छु’, शर्माले भने, ‘भोली शुक्रबार बेलुका काँग्रेसले सरकार छाड्ने दिनको पनि टुङ्गो लाग्छ ।’ उनले संवैधानिकका प्रक्रियाका कारण सरकार हस्तान्तरण केही ढिलाइ भएपनि राष्ट्रियसभा चुनाव सकिएकाले तत्काल सत्ता हस्तान्तरण गर्ने बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘जनताले दिएको म्याण्डेट अनुसार काँग्रेस सत्ता हस्तान्तरण गरी प्रतिपक्षमा बस्न तयार छ’, उनले भने, ‘कांग्रेसले सरकार छाड्न नचाहेको भन्ने बाहिर गलत प्रचार आएको छ, त्यो प्रकृया नबुझेर आएको प्रचार मात्र हो पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले भावी प्रधानमन्त्री ओलीलाई हात मिलाएर नै सत्ता हस्तान्तरण गर्नुहुनेछ ।’

पछिल्लो पटक सरकारले गरेको निर्णयले मुलुकलाई दुरगामी असर नपर्ने जिकिर गर्दै उनले वर्तमान सरकारले गरेको राम्रा निर्णयलाई नयाँ सरकारले निरन्तरता दिनुपर्ने बताए । ‘कांग्रेस नेतृत्वको सरकारको काम जनमैत्री छ, यसलाई अब आउने सरकारले पनि निरन्तरता दिनेछ’, उनले भने, ‘जनमैत्री कामलाई रोक्नु नागरिकको गला अठ्याउनु सरह हो ।’

प्रवक्ता शर्माले एकल संक्रमणीय प्रणालीमा निर्वाचन नभएको प्रतिपक्ष बिनाको राष्ट्रिय सभा हुने बताउदै प्रतिपक्ष बिनाको सभाको औचित्य नहुने भएकाले काँग्रेसले एकल संक्रमणीय प्रणाली रोजेको बताए ।

युवा नेता शर्माले काँग्रेसभित्र रुपान्तरणको आवश्यकता रहेको बताउँदै वडा, स्थानीय तह, नगर, जिल्ला हुँदै देशभर अभियान अभियान लैजाने बताए। निर्वाचनमा कांग्रेसले भोगेको पराजयको आन्तरिक र दीर्घकालीन असर खोजेर पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने उनको भनाइ छ । ‘कांग्रेस हारेको खेलाडी जस्तो मैदान बाहिर मात्रै हुँदैन’, शर्माले भने, ‘के कारणले हार भयो यसको निचोड निकालेर सुधार गर्नु कांग्रेसको अहिलेको आवश्यकता हो ।’

उनले कांग्रेसमा अब जो बदलिदैन त्यो पार्टीबाट आफैं बाहिरिने उद्धघोष समेत गरे । प्रवक्ता शर्माले केन्द्रीय कार्य समितिको बैठक बोलाएर महासमिति बैठकको मिति तोक्ने पनि जानकारी दिए ।