नेकपा माओवादी केन्द्रले प्रदेश नं ३ संसदीय दलका नेता चयन गरेको छ । सो दलको संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल (धादिङ) लाई चयन गरेको छ ।

संसदीय दलको आज यहाँ बसेको बैठकले दलको उपनेतामा कुमारी मोक्तान (मकवानपुर) र प्रमुख सचेतकमा वसन्त माझी (सिन्धुली )तथा सचेतकमा प्रतिमा श्रेष्ठ (भक्तपुर) लाई चयन गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेश नं ३ को उपसभामुखमा राधिका तामाङ (नुवाकोट ) लाई उम्मेदवार बनाउने निर्णय भएको संसदीय दलका नेता जमरकट्टेलले जानकारी दिनुभयो ।

यसैबीच नेकपा माओवादी केन्द्रको प्रदेश १ संसदीय दलमा भागवण्डा मिलेको छ । टंक आङबुहाङ दलको नेता चयन भएका छन् भने प्रदेश सरकारमा पार्टीको नेतृत्व इन्द्र आङबो (मौसम)ले गर्नेछन् । आङबुहाङ प्रचण्ड समूहका हुन् भने आङ्बो गोपाल किराती समूहका हुन् ।

प्रचण्ड समूहले आङबुहाङलाई दलको नेता बनाउन चाहेको थियो । तर, गोपाल किराती समूहले आङबोलाई अघि सारेपछि दुई गुटबीच पदीय झगडा देखिएको थियो ।

बिहीबार विराटनगरमा बसेको संसदीय दल र प्रदेश कार्यालयको विस्तारित बैठकले संसदीय दलको नेता र सरकारको नेतृत्वको जिम्मेवारी बाँडफाँट गरेको छ ।