२५ माघ । सरकार बनाउने अवस्थामा आएर संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच सम्बन्ध चिसिन पुगेको छ । राजपाले प्रदेश नम्बर २ को मुख्यमन्त्री पालैपालो चलाउनुपर्ने प्रस्ताव राखेपछि फोरम अध्यक्ष उपेन्द्र यादव भड्किएका छन् ।

प्रदेश २ मा फोरमको २९ र राजपाले ३५ सिट जितेका छन् । दुवै दल मिल्दा सरकार बनाउन बहुमत पुग्छ । प्रदेश २ मा १०७ सदस्य छन् । राजपा र फोरमको ५४ मध्ये एकजना सभामुख बन्ने भएकाले अपुग एक सिटमा स्वतन्त्रलाई लिएर सरकार बनाउने दुवै दलको तयारी थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर, विगत चार दिनयता भइरहेको छलफल निष्कर्षमा पुग्न सकेको छैन । राजपाले हैसियतभन्दा धेरै ठूलो मागदाबी गरेको फोरमको आरोप छ । फोरमले मुख्यमन्त्री र उपसभामुख लिए तीन मन्त्रालय तथा राजपाले सभामुख र चार मन्त्रालय, यदि राजपाले मुख्यमन्त्री र उपसभामुख दिएर फोरमले सभामुख र चार मन्त्रालय लिने भन्ने विषयमा दुवै दलबीच तीन दिनभित्र सहमति खोजिने भएको छ ।

फोरमले पाँचै वर्ष आफूले मुख्यमन्त्री चलाउने बताउँदै आएको छ । यदि राजपाले आफ्नो अडान नछाडे एमाले अध्यक्ष केपी ओलीसँग मिलेर केन्द्रसँगै प्रदेश नम्बर २ मा पनि सरकार बनाउने गृहकार्यमा उपेन्द्र यादव जुटेको स्रोतले बतायो ।

खासगरी संघीय समाजवादी फोरमले मुस्लिम समुदायका लालबाबु राउत गद्दीलाई मुख्यमन्त्री बनाउने गरी संसदीय दलको नेता चुनेपछि राजपाका नेताहरू भड्किएका छन् । प्रदेश २ मा जातीय रूपमा दलित, यादव र मुसलमानको बाहुल्यता छ । आफ्नो समुदायभन्दा बाहिरका व्यक्तिलाई मुख्यमन्त्री बनाउने तयारी भएपछि फोरम र राजपाबीच सरकार गठनका बेला सम्बन्ध चिसिन पुगेको हो ।