नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) सँग एकता भएर नयाँ बन्ने पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुने बताएका छन्।
आज टीकापुरमा एमाले क्षेत्र नं १ क्षेत्रीय कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गदै उनले पार्टी एकतापछि पछाडि पुच्छर झुन्डिएर रहेको नाम हट्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मात्र रहने बताए।
'२००६ सालमा पुष्पलाल श्रेष्ठले स्थापना गरेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी थियो। त्यसपछि उक्त पार्टी फुटेर नेकपाको पछाडि माले, मसाल, मशाल, एकता केन्द्र, एमाले हुँदै माओवादी केन्द्र लगायतका नामको पुच्छर झुन्डिएको छ', उनले भने, 'अब ती झुन्डिएका पुच्छर हटाएर एउटै नाम नेपाल कम्युनिस्ट पार्टी बन्नेछ।'
नेता नेपालले दुई पार्टीबीच एकताको प्रयास भइरहेको भन्दै अहिले सैद्धान्तिक र संगठनात्मक कस्तो हुने भन्नेमा छलफल चलिरहेको बताए। 'कस्तो विचार लिएर पार्टी एकता गर्ने र कस्तो संरचना बनाउने भन्नेमा अहिले छलफल जारी छ,' उनले भने, 'पार्टी एकतापछि एमाले र माओवादीसँग भावनात्मक रुपमा कसरी जोड्ने भन्ने प्रयासमा रहेका छौँ।'
दुई पार्टीबीचको एकतालाई देशी विदेशी शक्ति भाँड्ने प्रयासमा लागेको भन्दै त्यसतर्फ सतर्कता अपनाउनुपर्ने उनको भनाइ थियो।










