काठमाडौं- सहमतीको प्रयास असफल भएपछि नेकपा एमालेले प्रदेश १ को संसदीय दलको नेता निर्वाचनबाट छान्ने भएको छ। प्रदेश संसदीय दलको बैठकमा पार्टी सचिव भीम आचार्य र नेता शेरधन राईले दलको नेतामा दाबी नछाडेपछि चुनावबाट त्यसको टुंगो लाग्ने भएको हो। निर्वाचन कमिटीले मतदानका लागि दिउँसो ३ बजेको समय तोकेको छ।
संसदीय दलको नेता मुख्यमन्त्रीको दाबेदार भएकाले दुवै आकांक्षीले निर्वाचनमा प्रतिस्पर्धा गर्न उम्मेदवारी दर्ता गराएका छन्।
प्रदेश संयोजक समेत रहेका आचार्य पार्टीभित्र नेता माधव नेपाल पक्षधर हुन्। पूर्व सञ्चारमन्त्री राई भने पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका हुन्। प्रदेश १ मा नेपाल पक्षको बहुमत भए पनि अध्यक्ष ओली पक्ष निर्वाचन लड्न तयार भएको हो।
शुक्रबार बिहान नै भएको प्रदेश ३ को निर्वाचनमा नेता नेपाल पक्षीय उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै ओली पक्षका डोरमणी पौडेल संसदीय दलको नेतामा चयन भएका छन्। नेपल लाइभ बाट साभार










