दमक÷ नेपाल विद्युत प्राधिकरणले झापामा पनि विद्युत चोरी नियन्त्रण अभियानलाई तीव्र पारेको छ । प्राधिकरणको दमक वितरण केन्द्रले मिटर बाइपास र हुकिङ चोरी नियन्त्रण अभियानलाई तीव्र पारेको हो । ५ महिनाको अवधिमा ७५ जना विद्युत चोर कारबाहीमा परेको वितरण केन्द्र प्रमुख राजीव सिंहले बताए । उनका अनुसार गत भदौदेखि पुससम्म कारबाहीमा परेका विद्युत चोरबाट १५ लाख ५२ हजार ८ सय १९ रुपैयाँ असुल गरिएको छ । दमक वितरण केन्द्रले जफत गरेका विद्युतीय उपकरण चोरी नियन्त्रण अभियान तीव्र पारेपछि विद्युत चुहावट १९.५ प्रतिशतमा झरेको पनि उनले बताए । दमक वितरण केन्द्र अन्तर्गत ७३ हजार ५ सय ग्राहक छन् ।
आर्थिक वर्ष २०७३र७४ मा २३.४१ प्रतिशत रहेको चुहावट चालु आवमा १८.८४ प्रतिशतमा झार्ने लक्ष्य राखिएको सिंहले बताए । दमक वितरण केन्द्रले जफत गरेका विद्युतीय उपकरण चुहावट नियन्त्रण अभियान प्रभावकारी बनाउन ग्रामीण क्षेत्रको हुकिङ हटाई उपकरण जफत गरेर जरिवाना तिराउने, मिटर रिडरको छड्के जाँच गर्ने, जडान भएका मिटरको निरिक्षण गर्ने तथा नयाँ मिटर लिन आउने ग्राहकलाई तत्काल उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ । झापामा ग्रामिण क्षेत्रमा खेत सिंचाई गर्न हुकिङबाट र सहरी क्षेत्रमा मिटर बाइपास गरेर विद्युत चोरी हुँदै आएको छ ।
विद्युत चोरी हुने ग्रामीण भेगमा घरदैलो कार्यक्रम गरेर दैनिक १ सयभन्दा बढी सिंचाई मिटर वितरण गर्दै आएको प्राधिकरणले जनाएको छ । यस्तै, लामो समयसम्म विद्युत्को महसुल नतिर्ने ग्राहकको लाइन काटेर वक्यौता असुली गर्ने कार्यलाई पनि तीव्रता दिइएको छ । ५ महिनाको अवधिमा ३ सय २० जना ग्राहकको लाइन काटिएको छ । ४४ लाख १० हजार ९ सय ९७ रुपैयाँ वक्यौता उठ्ने बाँकी रहेकामा २ सय ६२ ग्राहकले ३९ लाख ५२ हजार १ सय ९६ रुपैयाँ बुझाएको सिंहले बताए । वक्यौता असुलीपछि दमक वितरण केन्द्रको राजश्व संकलन १ सय ८ प्रतिशत पुगेको उनको दाबी छ ।
विद्युत महसुल अनलाइनबाट तिर्ने ग्राहकको संख्या बढ्दै झापामा विद्युत महसुल अनलाइनबाट तिर्ने ग्राहकको संख्या बढ्दै गएको छ । गत मंसिर ३ गतेबाट सुरु भएको अनलाइन भुक्तानी सेवामार्फत २५ लाख १० हजार ७ सय ६० रुपैयाँ दमक वितरण केन्द्रको खातामा जम्मा भएको छ । प्राधिकरणले इन्टरनेटको पहुँच भएका सहरी क्षेत्रमा सेवा सुरु गरेपछि अनलाइनबाट विद्युत महसुल भुक्तानी गर्ने ग्राहकको संख्या बढ्दै गएको हो ।










