काठमाडौं- नेकपा एमालेले पार्टी एकता लगायत समसामयिक बिषयमा छलफल गर्न स्थायी कमिटिको बैठक बोलाएको छ। बैठक एमाले अध्यक्ष केपी ओलीको निवास भक्तपुरको बालकोटमा अपराह्न ४ बजेपछि सुरु हुनेछ।

बैठकमा पार्टी अध्यक्ष ओलीले पार्टी एकता प्रक्रियामा हालसम्म भएका प्रगतिका विषयमा ब्रिफिङ गर्ने तयारी गरेका छन्। ओलीले गत बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मीनभवनको एक गोप्य स्थानमा करिब तीन घन्टा एक्लै वार्ता गरेका थिए। सो भेटमा शुक्रबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय गरिए पनि तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पछिल्लो समय दुई वाम दलबीचको एकता प्रक्रिया जटिल मोडमा पुगेको भन्दै दुवै दलका शीर्ष तहका नेताहरुले समेत संशय व्यक्त गरेका थिए। माओवादी केन्द्रले फागुनको दोस्रो साताअगाडि नै नयाँ सरकार गठन हुने भन्दै त्योभन्दा अघि नै पार्टी एकताको मोडालिटी टुंग्याउनुपर्ने बताउँदै आएको छ।

नेपाल लाइभसँग कुरा गर्दै पार्टी सचिव  योगेश भट्टराईले बैठकमा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकको सूची टुंगो लगाउने विषयमा पनि छलफल केन्द्रित हुने बताए। ‘निर्वाचन आयोगले केही दिनभित्र समानुपातिकको सूची बुझाउन भनेको छ, त्योसँगै एकताको मोडालिटीका विषयमा पनि छलफल हुन्छ।’ नेपाल लाइभ बाट