दमक/झापाको दमकस्थित लाइफ लाइन अस्पतालले एक पुराना बिरामीको उपचार निशुल्क रुपमा गरेको छ । ८ बर्ष अघि अपेन्डिक्स भएर उपचार गराएका गौरादहका गजबहादुर घतानीको त्यो समयमा टाँकामा भएको इन्फेक्सनको उपचार अहिले भएको हो ।
आर्थिक अभावका कारण उपचार गराउन नसकेका घतानीले सहयोग माग्दै दमक नगरपालिकाका मेयर रोमनाथ ओलीसम्म पुगेका र ओलीले लाइफल लाइन अस्पतालका सञ्चाल समेत रहेका वडा नं. ७ का वडाध्यक्ष मार्फत उपचारको लागि पहल गरेका थिए ।
पुरानो टाँका लगाएको ठाँउमा पीप बग्नु तथा समस्या भएका कारण पीडित भएका घतानीको उपचारमा आफूले एक पैसा पनि नलिएको र उपचारमा लागेको सबै औषधि आफै उपलब्ध गराएको लाइफ लाइन अस्पतालका डा. रामसागर शाहले बताए ।
अस्पतालमा दूइदिनसम्म राखेर उपचार गरिएको र यसको सबै उपचारको जिम्मेवारी अस्पतालले लिएको जनाइएको छ । झण्डै ३० हजार बराबरको उपचार निशुल्क भएको अस्पतालका मेसु डा. मुक्तिनाथ भट्टराइले बताएकाछन् ।
वडा नंं ८ का वडाध्यक्ष समेत रहेका अस्पतालका सञ्चालक भीम पौड्यालका अनुसार गरिबीका कारण एकजना जेष्ठ नागरिक उपचार नपाइ छटपटाउदै हिडेको थाहा पाएर नगरपालिकाको मेयरको निर्देशनमा उपचार निशुल्क ब्यवस्था मिलाइएको हो ।









