विष्णुप्रसाद पोखरेल दमक । झापा दमकका ब्यापारीहरुले अहिले पनि आफूहरुले घरधनीले बुझाउनु पर्ने घरवहाल कर तिरिरहनु परेको बताउदै आँउदो आर्थिक बर्षको शुरुवातदेखि नतिर्ने बताएकाछन् । कर कार्यालय लगायतका सरकारी निकायहरुमा दर्ता, नविकरण गर्दा र बैकबाट कारोबार गर्दा अनिवार्य रुपमा घर वहाल कर तिरेको रसिद हुनु पर्ने बाध्यताका कारण आफूहरु मारमा परेको बताउदै ब्यवसायीहरुले यस्तो बताएकाहुन् ।
आइतवार आन्तरिक राजश्व कार्यालय भद्रपुर र करदाता सेवा कार्यालय दमकको आयोजना तथा दमक उद्योग बाणिज्य संघको संयोजनमा भएको छलफल कार्यक्रममा ब्यापारीहरुले आफ्ना समस्याहरु राख्दै घरवहाल कर आफूहरुले तिर्नु पर्ने बाध्यताबाट छुटकारा दिनका लागि आग्रह गरेका थिए ।
दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले आउदो साउनदेखि आफूहरु घरवहाल कर नतिर्ने र सम्बन्धित घर धनीबाट नै लिनु पर्ने बताउनु भयो । बारम्बार रुपमा यस बिषयमा कुरा उठाउदा समस्या सामधान गर्ने भनेर आश्वसन आएपनि अहिलेसम्म सावधान नभएको जनाउदै आफूहरुले घरवहाल कर नतिर्दा कुनै काम रोकिए त्यस बिरुद्ध आन्दोलन गर्ने चेतावनी दिनु भयो ।
करको बिषयमा भर्खरै बुझ्ना थालेका र करको दायरामा आइरहेका व्यापारीहरुलाइ एकपछि अर्को करको बोझ नबोकाउन आग्रह गर्दै उहाँले भन्नुभयो–‘हामी ब्यापारी यसैपनि करबाट पीडित नै पीडित रहेका छौ, अझ घर बहाल लगाउनेले तिर्नु पर्ने कर समेत हामी आफैले तिर्नु पर्ने बाध्यता रहेको छ, यो अब हामी तिर्दैनौ ।’
किराना ब्यवसायी संघ दमकका अध्यक्ष पदम थापा, कस्मेटीक तथा ब्याग ब्यवसायी संघ दमकका अध्यक्ष भरतमणि चुडाल लगायतले कर कार्यालयले ब्यापारीहरुलाइ त्रसित र आँतकित बनाउने काम गरिरहेको जनाउदै यस्तो कार्य रोक्नलाइ माग गर्नु भयो । आफूहरु न्यायोचित कर तिर्न तयार रहेको भन्दै जानजान रुपमा घुमाउरो भाषामा कर्मचारीले पैसा लिन झन्झट दिने गरेको उहाँहरुको आरोप रहेको थियो ।
आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख बोधराज आचार्यले करको बिषयमा ब्यापारीबाट उठेका जिज्ञासाहरुको सामधान गर्ने प्रतिबद्धता जनाउनु भयो । कर कार्यालयलाइ ब्यवसायी मैत्री बनाउने र सकेसम्म गुनासो आउने गरी काम नगर्ने गरी सेवा प्रदान गर्ने आफूहरुको उदेश्य रहेको उहाँको भनाइ थियो । कर शिक्षाको बिषयमा ब्यापारीहरुमा जानकारी नहुदा पनि कतिपय समस्याहरु आएको उहाँले जनाउनु भयो ।
बजार अनुगमन गर्दा, ब्यवसायीक दर्ता, नविकरण तथा कार्यालयले प्रदान गर्ने सेवा प्रवाहमा ब्यवसायीलाइ दुख दिने कार्य कहि कतैबाट भएको भए त्यो रोकिने पनि उहाँले बताउनु भयो । घरवहाल करको बिषयमा भने ब्यवसायी तथा घरबेटीहरुसंग बसेर समस्या सामधान गर्न सकिने जनाइएको थियो । कर अधिकृत छबि भट्टराइ र तीलक थापाले करका बिषयमा ब्यापारीहरुलाइ जानकारी गराउनु भएको थियो ।










