सुर्खेत– प्रदेश नम्बर ६ को सभामुखमा राजबहादुर शाही चयन भएका छन्। सोमबार बसेको प्रदेशसभाको बैठकले नेकपा एमालेबाट दैलेख निर्वाचन क्षेत्र नम्बर २(ख)बाट निर्वाचित शाहीलाई सभामुखमा चयन गरेको हो।
प्रदेशसभामा एमालेका सांसद प्रकाश ज्वालाले शाहीलाई सभामुख चयन गरियोस् भनी प्रस्ताव गरेका थिए। त्यसपछि नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले ज्वालाको प्रस्तावमाथि समर्थन जनाए।
शाहीबाहेक अरु कसैको उम्मेदवारी नपरेकाले प्रदेशसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य हिमबहादुर शाहीले राजबहादुर शाहीलाई सभामुख निर्विरोध चयन भएको घोषणा गरे।
नेकपा एमालेका नेता शाही दैलेख निर्वाचन क्षेत्र नम्बर २(ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।
उपसभामुखको चयन भने आगामी फागुन ५ गते गरिने भएको छ।










