लहान– घरमा भित्रिएको ५ घन्टा नबित्दै छोरा जन्माएकी सिरहाको बरियारपट्टि गाउँपालिका–३ शिवनगरकी सुत्केरी बेहुली जरिवानामा परेकी छिन्। रामवली रामकी छोरी शोभाकुमारी रामलाई गाउँलेहरूले जरिवाना गर्ने निर्णय गरेका हुन्।

पेटमा बच्चा बोकेर अर्कैसँग विवाहका लागि तयार भई आर्थिक रुपमा क्षति पुर्‍याएको र सामाजिक प्रतिष्ठामा आँच आउने काम गरेको भन्दै शोभा र उनको परिवारलाई २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय भएको एक गाउँलेले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनका अनुसार, शनिबार दिउँसो बसेको गाउँलेहरुको बैठकले शोभालाई गर्भवती बनाएर फरार भएको भन्दै प्रेमी शैलेन्द्र राम र उनको परिवारलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ। शैलेन्द्र भने रोजगारीका क्रममा यतिबेला कतारमा छन्।

तीन महिनाअघिदेखि नै देखादेख र चिनजान भएपछि सुखीपुर नगरपालिका–४ पोखरियाका २१ वर्षीय उमेशकुमार राम र शोभाको गत शुक्रबार विवाह भएको थियो। घरमा भित्रिए लगत्तै शोभा सुत्केरी भएकी थिइन्। त्यसपछि बेहुला पक्षले शोभासँगै आएका लोकन्तीको साथ लगाएर शोभालाई फिर्ता पठाएका थिए।

शोभालाई माइतीघर नजिकै घर भएका प्रेमी शैलेन्द्रको घरमा भित्र्याइएको छ। नवजात छोरासँगै उनी प्रेमीको घरमा भित्रिएकी छिन्। छिमेकी बहादुर रामका छोरा शैलेन्द्रले शोभाको शिशु आफ्नै भएको स्वीकार गरेपछि परिवारले घरमा भित्र्याएको गाउँलेहरुले जानकारी दिए। नेपाल लाइभ बाट