काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको सूची बुझाउन दिएको समय सीमा आज सकिँदैछ। आयोगले गत शुक्रबार समानुपातिकतर्फ सिट प्राप्त गर्ने दलहरुलाई तीन दिनभित्र सूची बुझाउन समय दिएको थियो।
आयोगले अनुसार ३ प्रतिशत थ्रेस होल्ड कटाउने ५ राष्ट्रिय दलले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ सिट पाएका थिए। सबैभन्दा बढी सिट प्राप्त गर्ने एमालेले आइतबार नै ४१ जना सांसदको सूची आयोगमा बुझाइसकेको छ।
मधेश केन्द्रित दल संघीय समाजवादी फोरमले आज बिहान निर्वाचन आयोगमा आफूले प्राप्त गरेको ६ सिटका लागि सूची बुझाएको छ।
सत्ता नेतृत्वकर्ता दल नेपाली कांग्रेसले अहिले समानुपातिकतर्फको सूची टुङ्गो लगाउन छलफल गरिरहेको छ। कांग्रेसले प्राप्त गरेको ४० सिटमा कसकसको नाम पठाउने भन्नेबारे अहिले प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताले छलफल गरिरहेका छन्। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले दिउँसो ४ बजेसम्म नामको टुङ्गो लगाउने नेपाल लाइभलाई बताए।
यस्तै, माओवादी केन्द्रले समानुपातिकतर्फको नाम टुङ्गो लगाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेवारी दिएको छ। पार्टीले प्राप्त गर्ने १७ सिटको सूची तयार गर्न पार्टीको केन्द्रीय सचिवालयले अध्यक्ष दाहाललाई अख्तियारी दिएको हो। दाहालले अपराह्नसम्ममा सूचीको टुङ्गो लगाउने पार्टी प्रवक्ता पम्फा भुसालले बताइन्।
अर्को मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपालले समेत समानुपातिकतर्फको सूची टुङ्गो लगाउन आज अध्यक्ष मण्डलको बैठक बोलाएको छ। केहीबेरमा सुरु हुने अध्यक्ष मण्डलको बैठकले पार्टीले प्राप्त गरेको ६ समानुपातिक सिटका लागि नाममा सहमति जुटाउनेछ।
दलहरुले आज साँझ ५ बजेसम्म समानुपातिकतर्फको सूची निर्वाचन आयोगमा बुझाउनुपर्नेछ। आयोगले सूचीमा गल्ती देखिए सच्याउनका लागि २ दिनको समय दलहरुलाई दिने तयारी गरेको छ।
आयोगले फागुनको पहिलो साताभित्र सम्पूर्ण निर्वाचनको मतपरिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने तयारी गरेको छ।










