महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रवीन्द्रसिंह धानुकको सरुवा भएको छ । उनको स्थानमा महानगरीय प्रहरी कार्यालयमा कार्यरत एसएसपी विश्वराज पोखरेल ल्याइएको प्रहरी प्रवक्ता डीआईजी मनोज नेउपानेले जानकारी दिए ।

एसएसपी धानुकको सरुवा संघीय प्रहरी इकाइ कार्यालय बाग्लुङमा गरिएको नेउपानेले सुशासन न्युजसँग बताए । पूर्वडीआईजी तथा नेकपा एमालेको तर्फबाट ललितपुरबाट सांसद भएका नवराज सिलवालविरुद्ध मुद्दा दर्ता गर्न नमानेको भन्दै प्रहरी मुख्यालयले एसएसपी धानुकको सरुवा गरेको प्रहरी स्रोतको भनाइ छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत मंसिर २९ गते आईजीपी प्रकरणको फैसलाको पूर्णपाठ जारी गर्दै सर्वोच्च अदालतले सो प्रकरणमा अदालतमा पेश भएका कासमू फाइल फरकफरक भएको ठहर गर्दै छानबिन गरी दोषीलाई कारबाही गर्न परमादेश जारी गरेको थियो । सोलगत्तै सरकारी वकिल कार्यालयले किर्ते कार्यमा संलग्नलाई कारबाही गर्न प्रहरीमा उजुरी दिएको थियो । उक्त उजुरीमा कसैलाई विपक्षी बनाइएको थिएन ।

त्यसपश्चात् उक्त प्रकरणमा छानबिनका लागि परिसरका प्रमुख एसएसपी रवीन्द्रसिंह धानुकलाई नेतृत्व दिइएको थियो भने अनुसन्धान अधिकृत डीएसपी बेलबहादुर पाण्डेलाई तोकिएको थियो । तर, प्रहरीका नेतृत्व गरिरहेका प्रकाश अर्याल (जो आफैं आईजीपी प्रकरणका अर्का झगडिया हुन्, मुख्यसचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले एकतर्फी रुपमा सिलवाललाई दोषी घोषणा गरेर पक्राउ गर्न एसएसपी धानुकलाई पटकपटक दबाब दिँदै आएको स्रोतको भनाइ छ ।

तर, एसएसपी धानुकले भने उक्त प्रकरणमा कसैलाई पनि एकतर्फी रुपमा दोषी ठहर गर्न नमिल्ने र सम्बन्धित सबै पक्षलाई छानबिनको दायरामा ल्याई अनुसन्धानपश्चात् दोषी को हो भन्न सकिने अडान राख्दै आएका थिए । सो क्रममा प्रहरीले सिलवाललाई उपस्थित गराइदिन पहिले महानगरीय प्रहरी परिसर ललितपुर र त्यसपश्चात् ७७ वटै जिल्लामा सर्कुलर जारी गरेको थियो । तर, सिलवाल भने भेटिएका छैनन् । सिलवाललाई नभेटिएपछि उनलाई फरार अभियुक्त घोषणा गर्दै अदालतमा मुद्दा दायर गर्न एसएसपी धानुकलाई प्रहरीको नेतृत्व तथा मुख्यसचिव र प्रधानमन्त्रीले नै दबाब दिएको स्रोतको भनाइ छ ।

पछिल्लो समय त अत्यधिक दबाबका कारण एसएसपी धानुक मोबाइल अफ गरेर बसेका थिए भने आइतबार मात्रै ५ दिने बिदा स्वीकृत गरेका थिए । एसएसपी धानुक परिसर प्रमुख भएसम्म सिलवालविरुद्ध मुद्दा दर्ता गर्न सम्भव नभएका कारण उनको सरुवा गरिएको स्रोतको भनाइ छ ।

प्रहरी मुख्यालयले आइतबार तीन डिएसपीको समेत सरुवा गरेको छ । परिसरका मुद्दा शाखाका डिएसपी बेलबहादुर पाण्डेलाई संघीय प्रहरी इकाइ दिपायल पठाइएको छ । काठमाडौं परिसरको मुद्दा शाखामा डिएसपी मोहन थापालाई पनि सरुवा गरिएको छ । थापा महानगरीय प्रहरी वृत्त जनसेवाका कार्यरत थिए । यस्तै जनसेवा वृत्त विशेष ब्युरोमा कार्यरत डिएसपी टेकानन्द लिम्बुको पनि सरुवा गरिएको छ । शुशासनबाट सभार