काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई नेतृत्व छाड्न सुझाव आएको छ ।

थापालाई पूर्वराजा ज्ञानेन्द्र शाहले पार्टीको नेतृत्व छाड्न सुझाव दिएको खुलासा भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उच्च स्रोतका अनुसार उपप्रधानमन्त्री समेत रहेका थापाले पटक पटक पूर्वराजालाई भेट्न खोजे पनि काठमाडौंमा भेट पाएका थिएनन् ।

त्यसपछि उनी पूर्वराजा मध्य र सुदूरपश्चिमको भ्रमणमा रहेका बेलामा राप्रपा नेता एवं नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणामार्फत भेट गर्न सफल भए ।

पुसको तेस्रो साता भएको भेटमा पूर्वराजाले कमल थापालाई पार्टीको नेतृत्व छाडेर संगठनमा लाग्न सल्लाह दिएका हुन् ।

धवलशमशेरले पटक पटक आग्रह गरी कमल थापासंग पूर्वराजाले भेट गरेका थिए ।

कमल थापाका कारण राप्रपाले पराजय बेहोरेको र मुद्दा पनि अलमलमा परेको भन्दै पूर्वराजाले कमल थापालाई नेतृत्व छाड्न सुझाव दिएका हुन् ।

स्रोतका अनुसार अहिले बुद्धिमान तामाङलाई कार्यबाहक दिएर कार्यकर्ता संगठित गरी चुनावी महाधिवेशन गर्न पनि सुझाव दिइएको छ ।

किन यस्तो भयो ? 

नेपालमा झण्डै एक लाख २० हजार कट्टर राजाबादी छन् । उनीहरु हिन्दूबादी पनि हुन् ।

तसर्थ अहिले एक लाख २० हजारलाई एक ढिक्का गर्न सक्ने हो भने यो क्रम हरेक वर्ष दोब्बर भएर जानेछ ।

कमल थापाले राजतन्त्रको मुद्दा पनि छाड्दै गएको र हिन्दूधर्मप्रति पनि कटिबद्ध हुन नसकेपछि यस्तो सुझाव दिएको बताइन्छ ।

राजावादीहरु र हिन्दूबादीहरु यो कोर कार्यकर्तालाई गुमाउन नचाहने भएकाले कमल थापालाई ब्याक गराएर भए पनि पार्टी सशक्त बनाउने अभियानमा पूर्वराजाले सल्लाह दिएको उच्च स्रोतको दावी छ ।

को आउने सम्भावना ? 

कमल थापाले छाडेका खण्डमा पशुपति शमशेर राणा पनि राप्रपामा मिल्नका लागि तयार रहेको स्रोतको दावी छ ।

कमल थापाले चिँढाएको भन्दै कशेरबहादुर थापा, डा प्रकाशचन्द्र लोहनीपछि पशुपतिशमशेरले पार्टी छाडेर अर्को पार्टी गठन गरेका थिए ।

कहिले होला यो कार्य ? 

स्रोत भन्छ नयाँ सरकार गठनपछि नै यो कार्यको थालनी हुनेछ ।

कमल थापाले सरकार छाडेपछि गम्भीर भएर यस विषयमा लाग्ने र उनले सहजीकरण गरिदिने उच्च स्रोतको दावी छ ।