काठमाडौं- वाम गठबन्धनका दुई शीर्ष नेताले पार्टी एकतालाई आजै टुंगोमा पुर्याउने तयारी गरेका छन्।

एकीकृत पार्टीको नेतृत्व र नयाँ सरकार गठनमा सहमति गरेका दुवै दलका शीर्ष नेताले एकताको अन्तिम खाका तय गर्दै पार्टी एकीकरणलाई निष्कर्षमा पुर्‍याउने गृहकार्य गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एकता प्रक्रियालाई आजै टुंगोमा पुर्‍याउने प्रयास भइरहेको बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जनयुद्धको २३औं वार्षिकोत्सवको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले दुवै दलका शीर्ष नेता बसेर आजै बेलुकासम्म एकतालाई टुंगोमा पुर्यासउने तयारी भइरहेको खुलासा गरे।

दुवै दलका शीर्ष नेताको हिजो बसेको बैठकले एकीकृत पार्टीको नेतृत्वमा दुवै जना रहने र सरकारको नेतृत्व आलोपालो गर्नेगरी सहमति गरेका थिए।

अब बस्ने दुई नेताको निर्णायक बैठकले एकीकृत पार्टीमा नेताको व्यवस्थापन र सैद्धान्तिक विषयमा सहमति जुटाउने बताइएको छ। दुई नेताले पार्टीभित्रका शीर्ष नेतालाई समेट्न सानो कमिटी बनाउने र महाधिवेशन मार्फत नेतृत्व टुंग्याउने तयारी गरेका छन्।

शीर्ष नेताको बैठक बस्ने तयारी भए पनि समयको टुंगो नलागेको एमाले अध्यक्षको निजी सचिवालयले बताएको छ। अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले बैठक बस्ने तयारी भएको बताउँदै समय निर्धारण नगरिएको नेपाल लाइभलाई बताए।

यसैबीच, माओवादी अध्यक्ष दाहाल गृहजिल्लामा हुने एक कार्यक्रममा सहभागी हुन चितवन निस्किएका छन्। उनी आजै अपराह्न काठमाडौं फर्कने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ। नेपाल लाइभ बाट साभार