भैरहवा– प्रदेश ५ को सभामुखका लागि माओवादी केन्द्रका पूर्णबहादुर घर्तीले उम्मेदवारी दर्ता गरेका छन्।
संसद् सचिवालयमा मंगलबार बिहान साढे १० बजे वाम गठबन्धनका संयुक्त उम्मेदवार घर्तीले उम्मेदवारी दर्ता गरेका हुन्। माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपानेको प्रस्ताव र एमाले प्रमुख सचेतक भूमिश्वर ढकालको समर्थनमा उम्मेदवारी दर्ता भएको हो।
रुकुम पूर्वबाट निर्वाचित घर्तीलाई प्रदेश ५ को सभामुखको उम्मेदवार बनाउने माओवादी केन्द्रले निर्णय गरेको थियो। प्रदेशसभामा वाम गठबन्धनको सहज बहुमत छ। ८७ सांसदमध्ये गठबन्धनसँग ६१ सांसद् छन्।
संसद्को तेस्रो शक्ति कांग्रेस र अरु दलहरुले सभामुखमा उम्मेदवारी दिने तयारी गरेका छैनन्। कांग्रेस सांसद वीरबहादुर रानाले कांग्रेसले सभामुखमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको बताए।
‘हाम्रो संसदीय दलको बैठक पनि बसेको छैन र यसबारे कुनै टुंगो लागेको छैन’, उनले भने।
उम्मेदवारी दर्तापछि पत्रकारसँग कुरा गर्दै घर्तीले संसदलाई व्यवस्थित, मर्यादित र विवादरहित ढंगले सञ्चालन गर्ने बताए।










