प्रदेश १ मा धमाधम प्रादेशिक मन्त्रालय स्थापना हुन थालेका छन् । प्रदेश सभाले तीनवटा बैठक सम्पन्न गरिसकेको र सरकार पनि चाँडै बन्न गइरहेकाले मन्त्रालय स्थापना कार्य तीव्र ढंगले अघि बढाइएको छ ।
विभिन्न सरकारी कार्यालय खाली गराएर मन्त्रालय स्थापना भइरहेको प्रदेश सरकारका मुख्य सचिव यादव कोइरालाले बताए । उनका अनुसार प्रदेश १ मा सातमध्ये पाँच मन्त्रालय स्थापना भइसकेका छन् ।
बाँकी दुई मन्त्रालय बुधबारसम्ममा स्थापना भइसक्नेछन् । ‘कहाँ–कहाँ मन्त्रालय स्थापना गर्ने भनेर धमाधम मर्मत–सम्भार भइरहेको छ, अब कर्मचारी आउन बाँकी छ,’ कोइरालाले भने ।
मन्त्रालय केही खाली गरिएका तलामा, केही अलग्गै भवनमा
स्थापना भएका मन्त्रालयमध्ये केहीले अलग्गै भवन प्राप्त गरेका छन् । तर, केही मन्त्रालय भने सरकारी कार्यालय भवनका तला खाली गराएर कायम गरिएका छन् । सामाजिक विकास मन्त्रालय जिल्ला जनस्वास्थ्य कार्यालयको भवनमा एउटा तला खाली गरेर स्थापना गरिएको छ ।
मुख्यमन्त्रीको कार्यालय क्षेत्रीय कृषि निर्देशनालयको दुईवटा तला खाली गरेर स्थापना गरिएको छ । भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालय क्षेत्रीय पशु निर्देशनालयको भवनको एउटा तलामा स्थापना गरिएको छ ।
आर्थिक मामिला, भौतिक पूर्वाधार विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अलग्गै भवन पाएका छन् ।
सोमबार आन्तरिक मामिलासहित दुई मन्त्रालय स्थापना
आन्तरिक मामिला तथा कानुन मन्त्रालय सोमबार स्थापना भएको छ । प्रदेश मुख्य सचिव यादव कोइरालाले उद्घाटन गरेका छन् ।
गृह प्रशासन, विपद् व्यवस्थापन, प्रदेश सभा, कानुन र न्याय अनि कर्मचारी प्रशासनको काम गर्ने भएकाले आन्तरिक मामिला मन्त्रालयलाई प्रदेशको सबैभन्दा महत्वपूर्ण मन्त्रालय मानिएको छ ।
यो मन्त्रालयमा प्रशासन योजना तथा विपद् व्यवस्थापन, सुरक्षा समन्वय र कानुन तर्जुमा महाशाखा रहेका छन् । सोमबारै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पनि उद्घाटन भएको छ ।
कुन मन्त्रालय कहाँ ?
० मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रोडशेष चौकस्थित क्षेत्रीय कृषि निर्देशनालयको भवनमा ।
० आन्तरिक मामिला, तथा कानुन मन्त्रालय, सोमबारे हाटस्थित क्षेत्रीय खाद्य अनुसन्धान तथा गुण नियन्त्रण कार्यालयको भवनमा ।
० सामाजिक विकास मन्त्रालय, देवकोटा चौकस्थित जिल्ला जनस्वास्थ्य कार्यालयको भवनमा ।
० भौतिक पूर्वाधार विकास मन्त्रालय, कोसी प्रोजेक्टस्थित सुनसरी–मोरङ सिँचाइ योजनाको परिसरमा ।
० उद्योग, वन तथा वातावरण मन्त्रालय, पोखरियास्थित जिल्ला र क्षेत्रीय वन कार्यालयको भवनमा ।
० आर्थिक मामिला तथा योजना मन्त्रालय, शनिहाट चौकस्थित घरेलु कार्यालयको भवनमा ।
० प्रदेश प्रमुखको कार्यालय, कोसी प्रोजेक्टस्थित क्षेत्रीय सिँचाइ निर्देशनालयको भवनमा ।
० व्यवस्थापिका संसद् सचिवालय , देवकोटा चौकस्थित जिससको भवनमा ।










