काठमाडौं, फागुन २ । जर्मन तानाशाह हिटलर भन्थे, ‘प्रेम होइन, युद्ध गर्नुस् । किनभने, युद्धमा तपाईं कि मर्नुहुन्छ कि बाँच्नुहुन्छ । तर, प्रेममा तपाईं न बाँच्नुहुन्छ, न मर्नुहुन्छ ।’ सत्यनारायण दास यादवले प्रेम गरे । र, प्रेम गरेको ‘अपराध’ मा जीवनभर ‘मर्नु न बाँच्नु’को स्थिति झेलिरहे ।

धनाढ्य जमिनदारको छोरा सत्यनारायण एक मुस्लिम युवती रसुलियाको प्रेममा परे । ०३१/३२ सालतिर नेपालमा उनको प्रेम दुस्साहस थियो । तर हैसियत, जात, धर्म सबै पर्खाल नाघेर उनको प्रेमले विद्रोह गर्‍यो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जमिनदारी प्रथाबारे सिरहातिर आज पनि अनेक कहावत छन् । जमिनदारहरू हजारौं बिघा जमिनका मालिक थिए । हात्ती पाल्थे । घरमा सयौं नोकरचाकर हुन्थे । यस्तो पनि भनिन्थ्यो कि गाउँमा नयाँ बुहारी भित्र्याउँदा पहिलो रात जमिनदारलाई सुम्पनुपर्थ्यो । सात खुन माफ थियो जमिनदारका लागि । कानुन उनीहरूकै मुठीमा थियो ।

सत्यनारायण दास यादवको परिवार पनि जमिनदार थियो । उनले आफ्नै घरमा काम गर्न आउने एकजना गरिब मुस्लिम युवतीलाई प्रेम ग रे। र, त्यसैको सजायबापत महिनौं जन्जिरमा बाँधिए । घरबाट निकालिए । फुटपाथमा पुगे । जिन्दगीभर अभाव झेले । त्यो दुःखको सिलसिलाले आज ६३ वर्षको उमेरसम्म उनलाई पछ्याइरहेको छ ।

माघ अन्तिम साता काठमाडौं, बानेश्वरको अँध्यारो डेरामा भेट्दा उनी एक्लै धुम्धुम्ती बसिरहेका थिए । भर्खरै नबाज पढेर सकाएका थि ए। गोजीमा राखेका थिए सेतो टोपी । खरानी रङको खास्टो गम्लङ्ङ ओडेका थिए । सेतै फुलेको थियो कपाल । माघको मधुरो घाम मुस्किलले छिर्दै थियो कोठामा ।

पटक-पटक ताकेता गरियो तर सुरुमा उनले आफ्नो प्रेम-इतिहास खोल्न चाहेनन् । आफ्नै छोराको अघि प्रेममय दिनहरूको खुला बयान गर्न धक थियो । सायद छोराले कुरा बुझे, बाहिरिए ।

४०/४२ वर्षअघि एउटा प्रेमकथा यसरी अंकुराएको थियो

त्यो दिन असारको झरीले देहाती माटो लछप्पै भिजेको थियो । खेतमा नारिएका थिए दर्जनौं हल गोरु । कोही ब्याडमा धानका बीउ उखेलिरहेका रहे, कोही छुपुछुपु धान रोपिरहेका थिए । एउटा उत्सव चलिरहेको थियो खेतमा । त्यही उत्सवकै बीच एक जना सुकिलो अल्लारे युवा खेतको आलीमा उभिन आइपुगे । हिलाम्मे खेतमा धान रोपिरहेका रोपाहारहरूलाई एकतमासले हेरिरहेका थिए । एक जना सुन्दरीको हँसिलो मुहारमा पुगेर टक्क रोकिए उनका आँखा । ती युवा थिए, जमिनदार हृदयनारायणका कान्छा छोरा सत्यनारायण । उनलाई परिवारमा मायाले ‘भृगु’ भनेर बोलाउँथे ।

विहारमा म्याट्रिक पढ्न बसेका उनी बिदामा गाउँ आउँदा टहलिन खेततिर निस्किएका थिए । सत्यनारायणले ती युवतीलाई धेरैबेर एकोहोरो हेरिरहे । उनी थिइन्, १६ वर्षीया रसुलिया खातुन । सत्यनारायणलाई अहिले पनि उनको रूप र बान्कीको ताजा स्मृति छ । भन्छन्, ‘उनी गोरी थिइन्। हँसिलो चेहरा, मिलेको जिउडाल । भुतुक्कै पार्ने मुस्कान । रसुलिया परीजस्तै थिइन् ।’

रसुलिया गरिब मुस्लिम परिवारकी एक्ली छोरी । उनको दुई पुस्ताले सत्यनारायणको खेतमा काम गरिसकेको थियो । उनी पनि आमासँगै धान रोप्न आएकी थिइन् । उनी औरही गाउँकै सुन्दर मुस्लिम युवती थिइन् । उनको सुन्दरताबारे गाउँदेखि परपरसम्म चर्चा हुन्थ्यो । सत्यनारायण पनि हेरेको हेर्‍यै भए ।

सिरहा, औरहीका सत्यनारायणका बाजे तिलकदास यादव कहलिएका जमिनदार । उनीसँग सयौँ बिघा खेत थियो । सात भाइ छोरा थिए उनका । जसमध्ये काइँला छोरा हृदयनारायण उनका बुबा थिए । रसुलियालाई देखेपछि उनको जिन्दगी सदाका लागि बदलियो । रसुलिया खेतमा काम गर्न आएको बेला उनी खेतमै पुग्थे । नआएको दिन रसुलियाकै घर छेउछाउ जान्थे । उनलाई भेट्ने अनेक बहाना खोज्थे । बिनाकाम रसुलियाको घरको चक्कर काट्थे । ‘म त उसको दिवाना भइसकेको थिएँ,’ उनी सम्झन्छन् ।

रसुलियाले सत्यनारायणको भाव बुझ्न थालिन् । गरिब परिवारमा जन्मिएकी रसुलियासँग जमिनदारको छोरालाई मनमा राख्ने हैसियत थिएन । सत्यनारायण भने उनको मायामा डुबिसकेका थिए । तर, डर थियो परिवारको र समाजको । एउटा कट्टर हिन्दू परिवार, अर्को कट्टर मुस्लिम परिवार । एउटा फुसको झुपडीबाट तारा गन्ने परिवार । अर्को भव्य बंगलाबाट जूनताराको स्वाद लिने परिवार !

स्कुल बिदामा आएका सत्यनारायण फर्केर पढ्न गएनन् । रसुलियाको मायामा डुब्न थाले । परीक्षा नै दिएनन् । ‘पढ्नै गइनँ, फेल भएँ नि,’ उनी विगत सम्झन्छन् ।’ हरेक दिन लुकीलुकी रसुलियालाई भेट्नु, मनको भावना साटासाट गर्नु अब उनको दैनिकी हुन थाल्यो । भेट्न नपाएको दिन उनी पागलजस्तै हुन्थे ।

उनीहरूको प्रेमबारे गाउँमा गाइँगुइँ हल्ला चल्न थाल्यो । कान्छो छोरा पढ्न नजानु, आफ्नै खेतमा काम गर्न आउने गरिब मुसलमानको छोरीसँग नाम जोडेर गाउँलेले कुरा काट्नु, बुबा हृदयनारायणको मनमा चिसो पस्न थाल्यो । सत्यनारायणसँग स्पष्टीकरण लिए, सम्झाए, फकाए । तर, भोलिपल्ट सत्यनारायण रसुलियाको घर पुगिहाल्थे । हैरान भएपछि उनका दाजु र बुबाले उनलाई पिट्न थाले । जन्जिरले बाँधेर राख्न थाले । ‘म रसुलियाका खातिर जतिसुकै यातना पनि भोग्न तयार थिएँ,’ उनी अतीतमा फर्किन्छन्, ‘उनीबिना बाँच्नै नसक्ने भइसकेको थिएँ। मैले बुबा र दाजुलाई सबथोक त्याग्न तयार छु तर रसुलियालाई छाड्न सक्दिनँ भनेँ ।’

रसुलियाले सत्यनारायणको प्रेम स्वीकार गरिसकेकी थिइन् । लुकीलुकी, भागीभागी भेट्न थाले उनीहरू । परालको कुन्युपछाडि, लहरी घारी, खेतको ढिस्को उनीहरूका ‘डेटिङ स्पट’ थिए। मानिसहरूले झनै कुरा काट्न थाले । हृदयनारायणको घरमा तनावका तलाहरू थपिए । लोकलाजले पिरोल्न थाल्यो हृदयनारायणलाई । छोरालाई पटकपटक सम्झाउँथे । तर, प्रेमी सत्यनारायणको एउटै रटान थियो, एउटै धुन थियो- ‘म रसुलियालाई माया गर्छु । उसैसँग जीवन बिताउँछु ।’

सत्यनारायणकी आमालाई भने यो सम्बन्धमा कुनै आपत्ति थिएन । छोराका लागि उनी समाजसँग जुध्न तयार थिइन् तर श्रीमान्का अघि निरीह । कुनै पनि हालतमा मुसलमान र गरिब रसुलियालाई बुहारी बनाउन राजी भएनन् हृदयनारायण । अन्तिममा उनले जुक्ति निकाले र छोरालाई भने, ‘त्यो केटीबिना तँ बाँच्नै सक्दैनस् भने, उसलाई ‘रखैल’ बनाएर राख् । तर, बिहेचाहिँ हामीले भनेको जात मिल्ने केटीसँग गर् ।’

सत्यनारायणले बाको प्रस्तावलाई ठाडै अस्वीकार गरिदिए । ‘आफ्नी मनकी रानीलाई म कसरी ‘रखैल’ बनाएर राख्न सक्थेँ ? ’ उनी भन्छन्, ‘त्यसपछि फेरि मलाई यातना दिन थालियो । तर, म गल्नेवाला थिइनँ ।’

सत्यनारायणको परिवारले अन्तिम अस्त्र प्रहार गर्ने योजना बनायो । खान्दानका सबै सदस्यलाई भेला गरेर उनलाई प्रश्न गरियो- ‘ल भन् भृगु ! जमिनदारको जीवन, दौलत, बुबाआमा, दाजुभाइ, सानको जिन्दगी रोज्ने कि त्यो मुसलमान गरिब र अनपढ केटी ? ’ सत्यनारायण जुरुक्क उठे । अन्तिमपटक सबैलाई ढोगे । र, चट्टानजस्तो दृढतासहित भने, ‘म रसुलियालाई रोज्छु ।’

सत्यनारायणका लागि रसुलियाको घर माटोले टालेको खरको झुपडी थिएन, प्रेमको जन्नत (स्वर्ग) थियो । उनी सरासर त्यही जन्नत पुगे, अनि तुरुन्तै मस्जिद गए । सेतो टोपी लगाए । नवाज पढ्न थाले । गाउँभरि हल्ला फैलियो, ‘जमिनदारको छोरा रसुलियाका लागि मुसलमान बन्यो ।’ अब उनलाई गाउँलेले भन्न थाले ‘हालमियाँ’ (भर्खरै मुस्लिम भएको) । यसरी सत्यनारायणले रसुलियाको खातिर आमा त्यागे, बा त्यागे । दौलत त्यागे र धर्म त्यागे । यहाँसम्म कि आफ्नो जातै त्यागे । यसरी सत्यनारायण दास यादवबाट उनी मोहम्मद अल्लाउद्दिन बने ।

अचेल भन्छन् नि, ‘लिभिङ टुगेदर’ । हो, त्यसरी बस्न थाले उनीहरू । केही समयपछि मुस्लिम परम्पराअनुसार बिहे गरे । सत्यनारायणका तर्फबाट उनी एक्ला थिए । रसुलियाका आफन्तहरू जम्मा भएर निकाह (बिहे) गरिदिए । उनले जिन्दगीभर रसुलियालाई साथ दिने वचन दिए । रसुलियाले पनि भनिन्, ‘हम अहाँके जीवन भइर साथ रहब, भृगु।’ (म हमेसा तिम्रै साथमा छु, भृगु।)

अब सत्यनारायणको दैनिकी बदलियो । सयौँ जनालाई काम लगाउने जमिनदारको छोरा अब बिहानै उठी हलोजुवा बोकेर अर्काको खेतमा हलो जोत्न जान थाले ।

किसान जिन्दगी सुरु भएको केही समयपछि सत्यनारायणले आफ्नो अंशको दाबी गर्न थाले । त्यसबेला उनको बुबासँग करिब ८० बिघा जमिन थियो । परिवारले अंश दिन मानेन । गाउँ समाजको दबाबपछि उनले एक कठ्ठा मात्रै पाउने भए । त्यसपछि उनी अदालत पुगे । त्यो ०३३ सालको कुरा थियो । अदालतले उनलाई अंश त दिलायो तर सवा बिघा मात्रै । किनकि, अदालतमा पुग्दा उनको बुबाले जम्मा जमिन पाँच बिघा मात्रै देखाए । उनले जमिन त पाए तर नदीले बर्सेनि दुईतिरबाट कटान गर्ने खालको । उनले त्यहाँ न घर बनाउन सके, न खेतीपाती गर्न सके । न त्यो जमिन बेच्नै सके ।

अब उनका लागि ओत लाग्ने अन्तिम विकल्प बन्यो त्यही झुपडी । जुन झुपडीमा उनी दुलाहा बनेका थिए, त्यहीँ हुर्किए दुई छोरा र दुई छोरी । न घर छाड्न सके । न अर्को बनाउन । न सके जन्मभूमि छाडेर टाढा जानै । एकदिन बुबा र दाजुको मन पग्लिएर आफ्नो जिन्दगीमा खुसीको बहार आउने आशामा त्यहीँ बसिरहे ।

थरथर काम्दै उनी भन्छन्, ‘त्यहाँ बस्न थालेको ४१ वर्ष पुगेछ ।’

आफ्नै बुबा र दाइविरुद्ध फेरि अदालतको ढोका ढक्ढक्याउने विचार गरेनन् उनले । गाउँ समाज र भद्रभलाद्मीले आफ्नो अंश दिलाइदिने आशामा बसिर । अर्काको घरमा ज्यालाबनी गरेर बाँच्न थाले रसुलिया र सत्यनारायण अर्थात्, अल्लाउद्दिन ।

जेठा छोरा जन्मिँदाको घटना उनको स्मृतिमा ताजा छ । रसुलिया सुत्केरी हुँदा उनले पोषिलो खानेकुरा खुवाउन सकेनन् । बनीबुतो गरेर ल्याएको खानेकुराले सुत्केरीलाई के खुराक पुगोस् ? त्यसैबेला साँझपख झुपडीबाहिर एक जना छिमेकी आएर उनलाई बोलाउन थालिन् । बाहिर निस्कनेबित्तिकै ती महिलाले पोल्टामा लुकाएर ल्याएको एक पोका चामल सत्यनारायणको हातमा थमाउँदै भनिन्, ‘तपाईंको आमाले रसुलियाका लागि भनेर लुकाएर पठाउनुभएको ।’

आमा कान्छो छोरालाई असाध्यै माया गर्थिन् । आमाको नाममा नौ बिघा जमिन थियो । त्यो जमिन दुवै छोरालाई बराबरी बाँड्न चाहन्थिन् उनी । तर, बाधा भइदिए बुबा र दाइ। ‘पिरैपिरले आमालाई लग्यो,’ आमा सम्झिएर सत्यनारायण भावुक हुन्छन्, ‘अन्तिम पटक मुखसमेत हेर्न पाइनँ । दाहसंस्कारमा समेत मलाई कसैले बोलाएनन् ।’

दुई छोरा र दुई छोरी विस्तारै हुर्किंदै गए । त्यो जमानामा म्याट्रिक पढेका सत्यनारायणले आफ्ना छोराछोरी भने पढाउन सकेनन् । जेठा छोरालाई ५ कक्षासम्म पढाए । अन्तिममा ५५ रुपैयाँ शुल्क तिर्न नसकेर स्कुल छोडाए । अरू सबै निरक्षर छन् । ‘उता मेरा दाजु र बाउ खलकका छोराहरू कोही सीडीओ बने, कोही इन्जिनियर,’ उनी भन्छन्, ‘कोही नेता बने त कोही डाक्टर । कोही पुगे अमेरिका, कोही अस्ट्रेलिया ।’ उनका छोरा भने पुगेका छन् कलकत्ता । आठ वर्षअघि एक दिन फोनमा कान्छा छोराले भनेका थिए, ‘बाबुजी म कलकत्तामा प्लम्बरको काम गर्छु । एक दिन आउँछु गाउँमा ।’ तर, उनी फर्केनन् । उनी आज कहाँ छन् सत्यनारायण बेखबर छन् ।

जेठा छोरा गाउँभरिको पोखरीबाट माछा मारेर हाटबजारमा बेच्न लान्छन् । डेढ/दुई सय कमाउँछन् दिनमा । बेलुकी गम्छाको छेउमा चामल र दाल पोको पारेर घर फर्कन्छन् । छोरीहरू बिहे गरेर गइसके ।

केही वर्षअघि सत्यनारायणका बुबा बिते । दाहसंस्कारमा पनि उनलाई कसैले बोलाएनन् । केही दिनपछि सारा गाउँलेलाई मृतकको नाममा भोज खुवाइयो । सारा गाउँले गाउँ नै रित्याएर जमिनदारको आँगनमा जम्मा भए । भोज खाए । तर, उनलाई कसैले बोलाएनन् । उनी अबेला पुगे । कसैबाट सोधनी भएन । ‘कसैले बस्समेत भनेनन्,’ सत्यनारायण सम्झन्छन्, ‘आफँै अन्तिम लाइनमा गएर बसेँ । कसैले खानेकुरा राखिदिए । घोसेमुन्टो लगाएर खाएँ । अनि कोहीसँग नबोली लुरुलुरु घर फर्किएँ ।’

उमेर ढल्कँदै गयो । जीवनभरको आशा अब पूरा हुन्न कि लाग्न थाल्यो उनलाई । अब त उनी हजुरबासमेत भइसकेका छन्। अब उनलाई चिन्ता छ नातानातिनाको । ‘जमिनको कुरा चटक्कै बिर्सिदिऊँ, पाइन्छ कि भन्ने आस, माग्न जाऊँ, नपाएको जुग बितिसक्यो,’ उनी सुस्केरा हाल्छन् ।

छोराको ढिपीले चार वर्षअघि सत्यनारायणले जिल्ला अदालतमा मुद्दा हाले । हारे । अनि, दुई वर्षअघि पुनरावेदन अदालतमा मुद्दा हाले । त्यहाँ फैसला हुन बाँकी छ । तर, हार्ने निश्चित ठाने उनले । अब कहाँ जाने ? लड्ने कसरी ? अन्तिम भरोसा देखे काठमाडौं । त्यसपछि नाइट बस चढेर हुइँकिए बाउछोरा ।

रसुलिया र सत्यनारायणले अभावग्रस्त तर प्रेमले भरिपूर्ण जिन्दगी बाँचे । गरिबकी छोरी रसुलियालाई रोजेकोमा सत्यनारायणलाई कुनै पछुतो छैन । उनी हिन्दीमा भन्छन्, ‘रसुलिया के साथ सादी करके जिन्दगी गुजरदिया ।’

अचेल सत्यनारायण प्रेमको जन्नतबाहिर टोलाएर बस्छन् । प्रायः बोल्दैनन् । टाढाटाढा हेरिहन्छन् । रसुलिया र सत्यनारायणले कति रात भोकै बिताए । कति रात रोएर बिताए । कति रात कचौरामा वर्षेझरी थापेर बिताए । कति रात घुर तापेर बिताए । तर, आजभोलि सत्यनारायण एक्लै घुर ताप्छन् ।

आजभोलि रसुलियाको याद बोकेर बेस्सरी चल्छ चिसो सिरेटो । रसुलियाको छाया बोकेर एकलास डगरमा त्यसै घुमिरहन्छ भुमरी । किनकि, रसुलिया ९ वर्षअघि नै गइसकेकी छन्, ताराहरूको देशमा । आजको अन्नपूर्णबाट पोस्ट दैनिकमा समाचार छ ।