काठमाडौं । दुई ठूला वाम पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई टुंगोमा पुर्याउने भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच वार्ता सुरु भएको छ । वार्ता केही बेर अगाडि सुरु भएको हो ।
दुई अध्यक्षबीच पार्टी एकताका लागि विभिन्न मोडालिटीमा छलफल भइरहेको छ । ओली र प्रचण्डबीचको वार्ता सकिएपछि आजै पार्टी एकता संयोजन समितिको बैठक बस्ने तयारी छ ।
संयोजन समितिमा एमाले अध्यक्ष ओली, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल छन् भने माओवादीबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ रहेका छन् ।
दुई अध्यक्षबीच भएको कुनैपनि सहमतिको खाकालाई अन्तिम रुप दिन बरिष्ठ नेताहरु रहेको संयोजन समितिमा छलफल भई निर्णय हुने छ ।
आजको वार्तामा विशेष गरी ओली र प्रचण्डबीच एकीकृत पार्टीका कार्यदिशाका विषयमा दुवै पार्टीका विचारहरुको संश्लेषण गर्ने र पार्टीभित्र छलफल चलाएर एकता महाधिवेशनमार्फत टुंग्याउने बारेमा छलफल केन्द्रित रहनेछ ।
त्यसैगरी एकीकृत पार्टीका नेतृत्व वा अध्यक्ष को हुने भन्ने विषयमा पनि आज अन्तिम टुंगो लाग्ने छ । जसमा दबै पार्टीका अध्यक्षहरुलाई समान हैशियत र भूमिका रहने मोडालिटीमा छलफल केन्द्रित रहेको र त्यसलाई थप व्याख्या गरी टुंग्याउने तयारी छ ।
र पार्टीको संगठनात्मक एकीकरण र संरचनाका बारेमा आज ओली र प्रचण्डबीचको वार्तामा छलफल केन्द्रित रहने छ । यसबारेमा अहिले माओवादीको केन्द्रीय समिति चार हजार र एमालेको केन्द्रीय समिति दुईसय सदस्यीय रहेको छ ।
संभव आजै एमाले र माओवादी केन्द्रबीच पाँच महिना लामो पार्टी एकता प्रक्रियाले निर्णायक मोड लिने छ । र पार्टी एकताको अन्तिम खाका तयार भई सार्वजनिक हुने छ ।
ओली र प्रचण्डलाई एकीकृत पार्टीमा शीर्षसँगै दोस्रो तहका नेतालाई व्यवस्थापन गर्न निकै चुनौति रहेको छ । भने ठूलो संख्याको केन्द्रीय समितिलाई छरिता, चुस्त र दुरुस्त बनाउने कार्य सबैभन्दा जटिल देखिएको छ ।
यसअघि सोमबार भएको ओली र प्रचण्डबीचको वान टु वान वार्तामा दुबै जना अध्यक्ष रहने, प्रधानमन्त्री आलो पालो गर्ने र एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने सहमति भएको बातइएको छ ।
त्यस्तै मंगलबार भएको वान टु वान वार्तामा एकीकृत पार्टीमा केन्द्रीय समिति ९९ सदस्यीय बनाउने पनि सहमति भएको छ ।










