काठमाडौं, २ फागुन ।
नेकपा एमाले स्थायी कमिटीको बैठक आकस्मिक बसेको छ । ललितपुरको मानभवनमा रहेको शारदा अधिकारीको घरमा कमिटीको आकस्मिक बैठक बसेको हो ।
बैठकमा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने विषयमा भएको सहमतिलाई पार्टी बैठकबाट नै अनुमोदन गर्नको लागि आकस्मिक बैठक डाकिएको एमालेका एक नेताले बताए।
माओवादी अध्यक्ष प्रचण्ड निकट व्यवसायी अधिकारीकै घरमा एमालेको बैठक बस्न लागेको हो । संयोजन समितिको बैठक पनि सोही ठाउँमा बस्ने भएकाले एमालेको बैठकका लागि नेताहरुलाई सोही ठाउँमा बोलाइएको स्रोतले जनाएको छ ।
ओलीले आफू र प्रचण्डबीच भएको सहमति पार्टीमा अनुमोदन गराउन लागेको अनुमान गरिएको छ । एमालेको बैठकअघि ओली र प्रचण्डबीच पनि सोही घरमा बैठक बसेको छ ।
स्रोतले भन्यो, ‘स्थायी कमिटीको बैठक बसेपछि संयोजन समितिको बैठक बस्छ र त्यस बैठकबाट पनि पार्टी एकीकरणको अनुमोदन हुनेछ। र केही दिनमा पार्टी एकीकरण हुनेछ।’ प्रचण्डसँगको बार्ता सकिएपछि ओलीले बैठक डाकेका हुन् ।
पार्टी एकता र शक्ति बाँडफाँडमा अन्तिम सहमति जुटाउन एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टू वान’ वार्ता सकिएको छ । अधिकारीको ललितपुरको मानभवनस्थित घरमा नै ओली प्रचण्डबीच पनि वान टु वान वार्ता भएको थियो ।
यसअघि मंगलबार पनि सोहि घरमा ओली प्रचण्डबीच वार्ता भएको थियो । एकता र शक्ति बाँडफाँडवारे ओली र प्रचण्डले सोमवार ‘प्रारम्भिक सहमति’ गरेको बताएका थिए ।
सहमति के–के मा ? पार्टी एकताका लागि सहमति हुँदा पार्टी नेतृत्व, सरकारको नेतृत्व, संगठनको स्वरुप र पार्टीको नीतिका विषयमा पनि सहमति जुटाउनुपर्नेछ । सोमबार ओली र प्रचण्डबीच ‘लन्च’सहित भएको ‘वान टू वान’ संवादमा यी चार विषयमा छलफल भएपनि अन्तिम सहमति भने बन्न वाँकी छ ।
यद्यपी, दुवै नेताले ‘वान टू वान’ भेटवार्तामा भएका छलफलका विषय र भएका भनिएका सहमतिवारे मुख खोलेका छैनन् ।
सोमबारको छलफल अनुसार आज दुई नेतावीच पुनः वार्ता भएको हो । आजको वार्तामा एकताको ‘खाका’ तयार हुने केही नेताहरुको दावी छ ।दुई नेताले एकताको खाका तयार गरेपछि पार्टी एकता संयोजन समितिको बैठक राखेर अनुमोदन गर्ने बताइएको छ ।
आजै ३ बजेपछि एमाले-माओवादी पार्टी एकता संयोजन समितिको बैठक बस्दै छ ।










