काठमाडौं, ३ फागुन– वाम गठबन्धनले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाउने निर्णय गर्दै बिहीबार राष्ट्रपतिसमक्ष नाम पठाउने तय गरेको छ । निर्वाचन आयोगले चुनावी परिणाम बुझाएलगत्तै बुधबार साँझ बसेको गठबन्धनको बैठकले बिहीबारबाटै सरकार गठन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

‘बिहीबार दिउँसोसम्म हामी नाम पठाइसक्छौं,’ एमाले महासचिव ईश्वर पोखरेलले भने । संसद्मा बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था छ । एउटै दलको बहुमत नपुगेकाले वाम गठबन्धनका दुई दल एमाले र माओवादीले संविधानको प्रावधानअनुसार आफूहरूको बहुमत रहेको उल्लेख गर्दै प्रधानमन्त्रीमा नियुक्तिको आग्रहसहित ओलीको नाम पठाउने छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिहीबारबाटै सरकार गठन प्रक्रिया अघि बढाउन एमाले स्थायी समितिको आकस्मिक बैठक पनि बुधबारै बसेको थियो । बैठकले ओलीलाई दलका तर्फबाट प्रधानमन्त्रीका रूपमा अघि सार्ने औपचारिक निर्णय गरेको थियो ।

‘तत्काल सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने देखिएकाले बिहीबारै त्यो काम सुरु हुन्छ,’ माओवादी नेता नारायणकाजी श्रेष्ठले भने । चुनाव सकिएको दुई महिनासम्म पनि प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक नहुँदा सरकार गठन प्रक्रिया अघि बढ्न सकेको थिएन ।

राष्ट्रिय सभाको निर्वाचनपछि मात्र प्रतिनिधिसभाको समानुपातिकतर्फको परिणाम सार्वजनिक गर्नुपर्ने अवस्थाका कारण सरकार गठन प्रक्रियाअवरुद्ध थियो ।

बिहीबार ओलीको नाम पेस भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सक्नेछिन् । राष्ट्रपतिबाट नियुक्त भएका प्रधानमन्त्रीले एक महिनाभित्र संसद्मा विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

वाम गठबन्धनसँग संसद्मा झन्डै दुई तिहाइ सिट छ । त्यसैले ओलीको नाम स्वतस् अनुमोदन हुने अवस्था छ । तत्काल दुई दलको मात्र सरकार बन्नेछ । सरकारको स्वरूपबारे बिहीबार नाम पेस भएपछि दुई दलले थप निर्णय गर्नेछन्, कान्तिपुरमा खबर छ ।