नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ४१ औं प्रधानमन्त्रीमा नियुक्त हुनु भएको छ । प्रतिनिधि सभा निर्वाचनको पूर्ण परिणाम आएसगै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम उहालाई आज प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
सो उपधारामा भनिएको छ,‘प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ ।’ निर्वाचन आयोगले निर्वाचनको पूर्ण परिणाम राष्ट्रपतिलाई बुझाएसँगै वाम गठबन्धनले संयुक्त सरकारको दाबेदारी प्रस्तुत गरेको थियो । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शितल निवास पुगेर आफ्नो पक्षमा स्पष्ट बहुमत रहेको भन्दै ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिपाउ भनेर दाबेदारी प्रस्तुत गर्नुभएको थियो ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ६५ जना प्रत्यक्ष र १ सय १० जना समानुपातिक प्रणालीबाट चुनिएका छन् । सरकार गठनका लागि प्रतिनिधिसभामा १ सय ३८ सिट आवश्यक छ । वाम गठबन्धन बनाएर चुनाव लडेका एमाले र माओवादी दुई दलको सिट जोडदा १ सय ७४ पुग्छ । प्रतिनिधिसभामा एमालेको १२१ र माओवादीको ५३ सिट छ । वाम गठबन्धनबाटै चुनाव लडेको राष्ट्रिय जनमोर्चाको १ सिट छ भने राप्रपाले गठबन्धनकै समर्थनमा एक सिट जितेको छ । प्रतिनिधिसभामा कांग्रेस ६३, राष्ट्रिय जनता पार्टी १७, संघीय समाजवादी फोरम १६, नयाँ शक्ति १, नेमकिपा १ र स्वतन्त्रबाट १ जनाको उपस्थिति छ ।
यसैविच, राष्ट्रपतिले ओलीलाई नेपालको ४१ औं प्रधानमन्त्रीमा नियुक्त गरेसगै आजै अपरान्ह ४ बजे शपथ ग्रहण गराउनु हुने भएको छ । शितल निवासमा अपरान्ह ४ बजे शपथ ग्रहण गराउने गरी तयारी भईरहेको शितल निवास स्रोतले जनता टाइम्सलाई जानकारी दिएको छ । यो सगै एमाले अध्यक्ष ओली दोस्रो पटक प्रधानमन्त्री चुनिनु भएको हो ।
यसअघि ओली २०७२ साल असोज २४ गते व्यवस्थापिका संसदबाट प्रधानमन्त्रीमा निर्वाचित हुनु भएको थियो । सो बेला तत्कालिन नेपाली काँग्रेसका सभापति शुसिल कोइरालालाई पराजित गरी उहा प्रधानमन्त्रीमा निर्वाचित हुनु भएको हो । ओलीको त्यस बेलाको ९ महिने कार्यकालको अहिले पनि विशेष चर्चा हुने गरेको छ । जसका कारण गत मंसिरमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पुरा देश नै एमालेमय भएको थियो ।










