काठमाडौं- ‘तुइनमुक्त नेपाल बनाउन अबको २ वर्षभित्र नेपालका सबै तुइन विस्थापन गरिनेछ र ती स्थानमा झोलुंगे पुल निर्माण हुनेछ।’
२०७२ असोज २५ गते केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भएको पहिलो निर्णय हो यो। उक्त निर्णयको साढे २ वर्षपछि ओली पुन: प्रधानमन्त्री बनेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज ४ बजे प्रधानमन्त्रीको सपथग्रहण गरेलगत्तै उनी पदबहालीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जाने कार्यक्रम छ।
पदभारपछि प्रधानमन्त्रीका रुपमा ओलीले यो पटक पनि नयाँ निर्णय गर्ने निश्चित भएको छ। उनको पहिलो निर्णय के होला? सबैको चासोको विषय बनेको छ।
विडम्बना, उनले साढे २ वर्षअघि गरेको पहिलो निर्णय नै कार्यान्वयन हुन सकेको छैन। २ वर्षभित्र तुइनमुक्त बनाउने ओलीको उक्त निर्णयले अझै मूर्तरुप लिन नसकेको हो।
नेपाल लाइभलाई प्राप्त जानकारी अनुसार साढे २ वर्षको यो अवधिमा तुइन विस्थापनमा ५६ प्रतिशत मात्र प्रगति हासिल भएको छ। अझै देशका ४४ प्रतिशत तुइन विस्थापन हुन बाँकी नै छ।
कति बने, कति बन्न बाँकी? स्थानीय विकास मन्त्रालयको सस्पेन्स ब्रिज डिभिजनका अनुसार हालसम्म देशभरमा ७५ वटा तुइन मात्र विस्थापन भएर झोलुंगे पुल निर्माण भइसकेका छन्। निर्णय अनुसार २ वर्षको अवधिमा देशभरका १ सय ३३ तुइन विस्थापन हुनुपर्ने थियो।
तुइन विस्थापनको काम डिभिजन र जिल्ला विकास समितिले गर्ने गरी काम अगाडि बढिरहेको छ। डिभिजनले ६८ र जिविसले ६५ वटा तुइनको स्थानमा पुल निर्माणको काम गरिरहेका छन्।
डिभिजनका प्रमुख गुरुप्रसाद शर्माका अनुसार तत्कालीन समयमा भएको निर्णयलगत्तै देशभरमा १ सय ७१ तुइनको पहिचान भएको थियो। तीमध्ये २९ वटा अनुपयुक्त र ४ वटा दोहोरिएका थिए। अनुपयुक्त र दोहोरिएका बाहेक १ सय ३८ वटामा काम अगाडि बढिरहेको समयमा थप ८ वटा तुइन पहिचान भएर तुइनको संख्या १ सय ४६ पुगेको थियो। यो संख्यामध्ये डिभिजनले ८० र जिविसले ६६ वटाको कामको जिम्मेवारी पाएका थिए।
काम अगाडि बढाउने क्रममा जिविसले बनाउने भनिएको मध्ये पोखराको एउटा तुइन हाइड्रो पावरको गज हेर्न मात्र बनाइएको पाइएपछि बनाउनु नपर्ने सूचीमा परेको थियो। यस्तै डिभिजनबाट बनाउने भनिएको ८० मध्ये पनि २ वटा फास्ट ट्र्याकमा परेको र ३ वटा जग्गा विवादमा परेको थियो। यस्तै महाकाली नदीमा पक्की पुल बन्ने भएपछि थप २ वटा पनि बनाउन नपर्ने सूचीमा परेको थियो। यस्तै ५ वटामा भने अझै पनि भारतबाट स्वीकृति पाउन बाँकी नै छ।
‘भारतबाट स्वीकृत पाउन बाँकी ५ र बनाउन नपर्ने सूचीमा रहेका ८ वटा फेला परेपछि देशभरका १ सय ३३ वटा तुइनको काम धमाधम अगाडि बढिरहेको छ,’ डिभिजन प्रमुख शर्माले भने, ‘यीमध्ये हालसम्म ७५ वटा तुइनको स्थानमा पुल बनिसकेको छ भने अब सुर्खेतका २ र भारतले स्वीकृत गर्न बाँकी ५ बाहेक अरु सबै यो आर्थिक वर्षभित्र सम्पन्न हुनेछ।’नेपाल लाइभ बाट साभार










