नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने अभिभारा एमालेको काँधमा आएको भन्दै चुनौतीका बीच गहन जिम्मेवारी लिएर अगाडि बढ्ने बताएका छन् ।
संसदीय दलमा सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन भएपछि सांसदहरुलाई सम्बोधन गर्दै ओलीले जनताको भावनाको सम्मान गर्न आग्रह गरे ।
एमाले संसदीय दलको पहिलो बैठकमा सांसदहरुलाई निर्देशन दिँदै ओलीले देश विकासको लागि सम्पूर्ण सामर्थ्य लगाउने बताए । जनताको ठूलो अपेक्षा र भरोसा आफूहरुमा रहेको भन्दै ओलीले त्यसलाई पूरा गर्न सबै गम्भीर हुन सांसदहरुलाई निर्देशन दिए ।
‘मान्छेको आयूको सीमा हुन्छ, अवधिको सीमा हुन्छ, पाँच वर्ष तोकिएको छ, सामर्थ्यको पनि सीमा हुन्छ । कति शक्ति कति सामर्थ्य भन्ने तर, इमान असिमित हुन्छ ’ ओलीले भने‘ हाम्रो विशेषता के हो भने अरु जुनसुकै कुराको सीमा भएपनि त्यही इमानका लागि हामीले काम गर्नुपर्छ ।’
जनताको हीतको लागि काम गर्न ओलीले सांसदहरुलाई निर्देशन दिए ।
‘स्थानीय तहमा ७५३ निकाय हामीसँग छ । देशभर १४ हजार भन्दा बढी एमालेका एकलै छन् । सात प्रदेश मध्ये ६ मा हामी सत्ता पक्ष नै छौं ।’ ओलीले भने,‘हाम्रो सरकार बनेर पनि काम गर्न सकेनौ भने कसले गर्छ ?’
ओलीले ढिला सुस्ती र जनताले सुविधा नपाउने काम आफ्नो सरकाबाट नहुने र त्यसता कार्य भए क्षम्य नहुने चेतावनी दिए ।
उनले सांसदहरुलाई पार्टीको निर्देशन अनुसार अघि बढ्न निर्देशन दिए । संसदमा आएर हाजिर हुने र जाने मात्र काम नगर्न उनले सांसदलाई निर्देशन दिए ।
सांसदहरुले संसदमा के विषयमा छलफल गर्ने भन्ने विषयमा जानकार हुन आवश्यक हुने ओलीले बताए । पार्टीको ह्वीप अनिवार्य मान्न उनले सांसदहरुलाई निर्देशन दिए ।










