काठमाडौं– नेकपा एमाले सांसद तथा पूर्व डिआइजी नवराज सिलवाल विरुद्धको कीर्ते मुद्दा सरकारी वकिल कार्यालयमा रोकिएको छ। प्रहरीले बुधबार रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएकोमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले बिहीबार मुद्दा अघि बढाएन।
महान्यायधिवक्ता बसन्तराज भण्डारीले बिहीबार नै मुद्दा दायर गर्न दबाब दिए पनि जिल्ला सरकारी वकिलको कार्यालयका अधिकारीले मानेनन्। शुक्रबार ल्होसारको बिदा भएकाले अब आइतबार मात्र मुद्दा चलाउने÷नचलाउने निर्णय हुनेछ।
सरकारी वकिलको कार्यालयले अनुसन्धान पूरा नभएको भन्दै थप प्रमाण संकलन गरेर ल्याउन अनुसन्धान प्रतिवेदन फेरि प्रहरीमा फर्काउने सम्भावना रहेको स्रोत बताउँछ। सरकारी वकिलको कार्यालयलाई मुद्दा नचलाउने निर्णय गर्न सक्ने अधिकार पनि छ। तर, सर्वाेच्च अदालतबाटै फैसला भएर अनुसन्धानका लागि आदेश भएको मुद्दा भएकाले मुद्दा नचलाउने निर्णय गर्न गाह्रो रहेको जिल्ला सरकारी वकिलको कार्यालयका एक अधिकारी बताउँछन्।
आइजिपी बढुवा सम्बन्धी मुद्दामा सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन (कासमू) सम्बन्धी कागजपत्र सरकारको रेकर्डमा रहेकोभन्दा फरक भएको भन्दै अनुसन्धान गरी कारबाही गर्न सर्वाेच्च अदालतले आदेश दिएको थियो। सोही अनुसन्धानका आधारमा प्रहरीले अनुसन्धान गरी अनुसन्धान प्रतिवेदन बुझाएको हो। फरार रहेका सिलवालले भने सरकारले प्रतिशोध स्वरुप आफूविरुद्ध मुद्दा चलाउन खोजेको आरोप लगाउँदै आएका छन्।










