प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिनुभएको छ ।
मोदीले बिहिबार राति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिनुभएको हो । टेलिफोन संवादमा मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताउनुभएको छ । यसैगरी नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता मोदीले व्यक्त गर्नुभएको छ ।
टेलिफोन संवादमा प्रधामन्त्री ओलीले मोदीलाई आफूलाई बधाइ तथा शुभकामना व्यक्त गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ । यसैगरी प्रधानमन्त्री ओलीले आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेको र भारतसंगको मित्रता अझ सुदृढ बनाउन प्रयासरत रहने कुरा पनि मोदीलाई बताउनुभएको छ ।
मोदीले भारतीय राजदुत मञ्जित सिंह पुरी मार्फत प्रधानमन्त्री ओलीलाई एक शुभकामना पत्र पठाउँदै प्रधानमन्त्री ओलीको नेतृत्वमा देशले स्थायीत्व पाउने आशा व्यक्त गर्नुभएको छ ,साथै ओलीको नेतृत्वमा आर्थिक विकास र समृद्धि पनि हासिल हुने विश्वास व्यक्त गर्नुभएको छ ।
शुभकामना पत्रमा मोदीले नेपाल र भारतको प्रगाढ विश्वास,सद्धभाव र पारस्परिक विस्वासमा आधारित युगौं पुरानो सम्बन्धलाई विकाश गर्न आफूहरुले उच्च महत्व दिने र त्यसका लागि नेपाली जनता र नेपाल सरकारको साथमा रहेर विकासका लागि सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभएको छ ।










