नेपाल विद्युत् प्राधिकरणले झापाको पाडाजुँगी, केर्खा र माइधार वरपरको क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरेको छ । १३२ केभी काबेली कोरिडोरको ३३/११ केभी पाडाजुँगी सबस्टेसन स्तरोन्नती गर्न दमक वितरण केन्द्रले विद्युत् आपूर्ति बन्द गरेको हो । सबस्टेसनमा हाल जडित ६.११ एमिएको स्थानमा १६.६ एमभिएको पावर ट्रान्सफर्मर जडान गर्न पाडाजुँगी र केर्खाको ११ केभी फिडरबाट हुँदै आएको आपूर्ति बन्द गरिएको वितरण केन्द्र प्रमुख राजीव सिंहले बताए ।

उनका अनुसार पाडाजुँगीदेखि दही चोक र केर्खा पूर्व माइधार वरपरको क्षेत्रमा बिहान ८ देखि साँझ ६ बजेसम्म दैनिक १० घन्टा विद्युत् सेवा अवरुद्ध गरिएको छ । ट्रान्सफर्मर जडानको अवधिभर एक सातासम्म सेवा अवरुद्ध हुने उनले बताए । ट्रान्सफर्मर जडानको काम पूरा गरेर सञ्चालनमा आएपछि आपूर्ति नियमित हुने प्राधिकरणले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सबस्टेसन स्तरोन्नतीपछि वितरण प्रणालीको गुणस्तरमा सुधार हुने र भोल्टेजको समस्या समाधान हुने सिंहले बताए । अहिले जडित ६.११ एमभिए क्षमताको ट्रान्सफर्मर धरान लगेर जडान गरिने पनि उनले बताए । प्राधिकरणले पूर्वको वितरण प्रणाली सुधार गर्न ओभर लोड भएका सबस्टेसनको स्तरोन्नती गर्दै आएको छ ।