काठमाडौं, ४ फागुन– निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट आजै निजि निवास बूढानीलकण्ठ सर्ने भएका छन् । ज्योतिषीमाथि अधिक विश्वास राख्ने देउवालाई शुक्रवार दिउसो ३ बजेर ३४ मिनेटमा सरकारी निवास छोड्न सल्लाह दिएको उनको सचिवालय स्रोतले वताएको छ ।
फागुन ४ गते भित्र बालुवाटार नछोडे अनिष्ट हुने सन्देश देउवालाई ज्योतिषीले दिएपछि उनले आजैका दिन बालुवाटार सर्ने योजना बनेको समाचार चक्रपथ डटकमले माघ २२ मा प्रकाशित गरेको थियो। देउवाका पारीवारिक ज्योतिष अंगीरस न्यौपानेले बालुवाटार छोड्दा मुगा र मणि जडित औंठी लगाउन समेत सुझाएकाले उक्त औंठी पनि ल्याइसकिएको छ ।
फागुन ४ भन्दा पछि पनि बालुवाटार बसे र मणि र मुगा जडित औंठी नलगाए अनिष्ट हुने ज्योतिषीले वताएपछि देउवाले २२ माघमै फागुन ४ का लागि निवास छोड्ने योजना बनाएका थिए । ज्योतिषीले सिफारिस गरेको औंठी निरन्तर लगाइरहन पनि उनलाई सुझाव दिइएको छ ।
ज्योतिषीले देउवालाई शुक्रवारका लागि ४वटा साइत सिफारिस गरेका छन् । ती ४ मध्ये दिउसो ३ः३४ बजे वालुवाटारको मुख्य ढोकाबाट पाइलो छोड्नु उत्तम हुने वताइएको छ । अर्काे साइत बिहान ९ बजेका लागि सुझाइएकाले देउवाले बिहान ९ बजेदेखि नै सामान सार्न लगाएका छन् ।
चक्रपथ डट कम मा खबर रहेको छ









