काठमाडौँ, ४ फागुन । अन्ततः नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार हुने भनिएको ‘निर्णायक वार्ता’ स्थगित भएको छ । दुई शीर्ष नेताको समय अभावले अन्तिम समयमा आएर छलफल हुन नसकेको स्रोतले जनाएको छ । ‘अहिलेसम्म त्यस्तो कुनै तयारी छैन, संभवतः आज भेटवार्ता हुँदैन’, प्रधानमन्त्री ओली निकट स्रोतले भन्यो ।

ओली र दाहालबीच पार्टी एकतामा नमिलेका विषय र सरकार विस्तार लगायतका विषय टुङ्ग्याउने गरि शुक्रबार छलफल हुने भनिएको थियो । जुन साँझ साढे ६ बजेसम्म पनि अनिश्चित छ । दुई शीर्ष नेताबीचको भेटवार्ताको संभावना टरेको माओवादी स्रोतले पनि पुष्टि गरेको छ । ‘अहिलेसम्म निश्चित भएको छैन, दुवै नेता दिनभर आ–आफ्नै काममा व्यस्त हुनुभयो, ‘माओवादी प्रवक्ता पम्फा भुसालले भनिन्’, अब आजलाई आज भेटवार्ता हुने संभावना निकै कम छ’ । अध्यक्ष दाहालको सचिवालयले पनि भेटघाटको कुनै टुङ्गो नलागेको जनाएको छ । अब दुई नेताबीच भोली भेटवार्ता हुने सचिवालयले जनायो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पछिल्लो समय एमाले–माओवादीबीच पार्टी एकताको बिषयमा ठोस निर्णय हुन बाँकी छ । एकताका विषयमा लगभग ९५ प्रतिशत कुरा मिलिसकेको दुवै दलका नेताहरुले बताउने गरेका छन् । तर, पछिल्लो दुई दिन यता पार्टी एकताका विषयमा कुनै प्रगती देखिएको छैन । सैद्धान्तिक विषयमा सहमति हुन नसक्दा पार्टी एकतामा ढिलाई भइरहेको नेताहरुले बताएका छन् ।

दुई दलबीच एकताका विषयमा ठोस कुरा नहुँदा प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा माओवादीले सहभागिता जनाएको छैन । यद्यपी, माओवादीले नेता रामबहादुर थापाको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ । प्रधानमन्त्री ओलीसँग समझदारी हुने वित्तिकै माओवादी सरकारमा जानेछ । यसअघि थापालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने माओवादी तयारी थियो । तर, अन्त्यमा आएर थापाले मन्त्री बन्ने ईच्छा देखाएपछि उनकै नेतृत्वमा सरकारमा सहभागी हुने माओवादीले तयारी गरेको छ । माओवादीभित्र वर्षमान पुन आफू सरकारको नेतृत्व गरेर जाने योजनामा थिए । थापाले इच्छा देखाएपछि उनी पछि हटेको स्रोतले जनाएको छ ।

बिहीबार ओलीको व्यस्तताका कारण दुई पार्टीबीच छलफल हुन सकेको थिएन । बुधबार भएको बैठकमा एमालेले आफ्नो मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादलाई कतै न कतै उल्लेख गर्नुपर्ने बताएपछि माओवादीले पनि माओवाद राख्नुपर्नेमा जोड दिएको थियो ।

शुक्रबार दिउँसो मात्रै काठमाडौँमा भएको एउटा सार्वजनिक कार्यक्रममा माओवादी अध्यक्ष दाहालले पार्टी एकता लगायत सरकार निर्माणको विषयमा एमालेसँगको छलफल सकरात्मक रहेको बताएका थिए । एमालेसँग पार्टी एकता, मन्त्रालय बाँडफाँड, सरकार निर्माण र राजनीतिक नियुक्तिका विषयमा सहमति बनाउने प्रयास भइरहेको दाहालले खुलाएका थिए । आजभोलीभित्र सहमती हुने उनको कथन थियो ।

दुई शीर्ष नेताबीच छलफल नहुँदा एकता संयोजन समितिको बैठक पनि अनिश्चित बनेको छ । एमाले–माओवादीबीच पार्टीको मार्गदर्शक सिद्धान्तलाई लिएर मतभेद देखिएको छ । पार्टीको मार्गदर्शक सिद्धान्तमा दुई पार्टीबीच केही मतभेद देखिएपनि मध्यमार्गी निकासका लागि पहल थालिने नेताहरुले बताएका छन् ।

दैनिक नेपाल बाट साभार गरिएको हो