काठमाडौं। नेकपा एमाले अध्यक्ष खड्गप्रसाद ओली (केपी शर्मा ओली) बिहीबार मुलुकको ४१ औं प्रधानमन्त्री बनेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
बिहीबार साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गरेका नवनियुक्त प्रधानमन्त्री ओलीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । उनको मन्त्रिपरिषद्मा लालबाबु पण्डित र थममाया थापालाई सहभागी गराइएको छ ।
आफ्नो जीवनका कठिन राजनीतिक आरोह अवरोह पार गर्दै बिहीबार दोस्रोपटक प्रधानमन्त्री बनेका ओलीको युवा अवस्थाको तस्विर सार्वजनिक भएको छ ।
मुलुकको ४१ औं प्रधानमन्त्री बन्नेका खड्गप्रसाद ओली राजनीतिमा ‘केपी शर्मा ओली’ले परिचित छन् । उनी खरो स्वभाव र स्पष्ट वक्ताका रुपमा चिनिन्छन् ।
दुई वर्षमा ओली दुईपटक प्रधानमन्त्री बनेका हुन् । यसअघि २०७२ साल असोज २४ गते ओली पहिलोपटक मुलुकको ३८ औं प्रधानमन्त्री बनेका थिए ।
तेह्रथुम जिल्लामा वि.स. २००८ साल फागुन ११ गते जन्मिएका ओलीको सार्वजनिक दुई तस्विर मध्य एउटामा दारी र कपाल लामो देखिएको छ भने अर्कोमा दारी नभएको तर, जुँगा देखिएको छ ।
साथै तालुमा कपाल समेत छैन । दारी र कपाल लामो भएको तस्विरमा चस्मा लगाएको देखिन्छ भने कपाल र दारी नभएकोमा चस्मा पनि लगाएका छैनन् ओलीले ।





















