काठमाडौं- वाम गठबन्धनका प्रमुख नेताबीच पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउँदै सरकार गठनलाई पूर्णता दिने सहमति भएको छ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान करिब ४५ मिनेट भएको भेटवार्तामा सरकार गठनलाई पूर्णता दिने र पार्टी एकताका बाँकी विषयमा सहमति जुटाउने विषयमा छलफल भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्ला भ्रमणमा निस्कन लागेका माओवादी अध्यक्ष दाहालले शनिबार बिहान १० बजे प्रधानमन्त्री ओलीसँग एक्लै भेटवार्ता गरेका थिए। दुवै दलका प्रमुख नेताले भोलि एकता संयोजन समितिको बैठक बोलाएर मिल्न बाँकी बिषयलाई टुंगोमा पुर्‍याउने सहमति गरेका छन्। एमाले अध्यक्षका प्रेस संयोजक चेतन अधिकारीले भोलि एकता संयोजन समितिको बैठक बसेर सरकारलाई पूर्णता दिने र एकतालाई निष्कर्षमा पुर्‍याउने सहमति बनेको बताए।

बैठकको समय र स्थान तय नभए पनि माओवादी अध्यक्ष दाहाल काठमाडौं फर्किएलगत्तै छलफल अघि बढ्नेछ।

वाम गठबन्धनका प्रमुख दुई नेताले एकीकृत पार्टीको नेतृत्व र सरकारमा आलोपालोको सहमति गरे पनि एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्तमा एकता प्रक्रिया अड्किएको छ। एमालेका शीर्ष नेताले एकीकृत पार्टीको सिद्धान्त 'जनताको बहुदलीय जनवाद' राख्नैपर्ने अडान राखेपछि एकता प्रक्रियाको निर्णायक वार्ता निष्कर्षविहीन भएको थियो।

तत्काल एकता प्रक्रिया स्थगित भए पनि माओवादीको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन्। एकता प्रक्रिया निष्कर्षमा नपुगेको भन्दै ओलीले नेतृत्व गरेको सरकारमा माओवादी केन्द्र हाल सहभागी भएको छैन।