काठमाडौं- संघीय समाजवादी फोरम नेपालसँग मिलेर प्रदेश २ मा सरकार बनाएको दुई दिन नबित्दै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) भित्र विवाद चुलिएको छ। प्रदेशमा मन्त्री बन्नेहरूको होडबाजी सुरु भएपछि विवाद बढ्न थालेको हो।
राजपाका तर्फबाट बिहीबार मात्र जितेन्द्र सोनलले भौतिक मन्त्रीको पदभार ग्रहण गरेका थिए। मन्त्री नियुक्त हुनुअघि सोनललाई संसदीय दलको नेता चयन गरेको जानकारी राजपा संयोजक महन्थ ठाकुरले विज्ञिप्त मार्फत गराएका थिए। राजपाले सभामुखमा सरोज यादवलाई पठाएको थियो।
मन्त्रीका आकांक्षी धेरै देखिएपछि केही दिनअघि मात्र राजपा अध्यक्ष मण्डलको बैठकले समानुपातिक तर्फबाट आएका सांसदलाई प्रादेशिक सरकारमा नपठाउने प्रस्ताव गरेको थियो। तर, अध्यक्ष मण्डलका सदस्यहरू अनिल झा, राजकिशोर यादव लगायतले यसको विरोध गरे। पछि यो प्रस्तावमा निर्णय हुन सकेन।
राजपाले संसदीय दलको नेता र मन्त्रीमा सोनललाई पठाएको विषयमा पनि पार्टीभित्रै विरोध हुन थालेको छ। सभासद रामनरेश राय सहित केही नेता दलको नेतादेखि मन्त्री बन्नका लागि राजपाभित्र दौडधुप गरिरहेका थिए। मनिष सुमन, लालबाबु साह लगायतका नेता यसमा अगाडि नै देखिएका थिए। तर अध्यक्ष मण्डल सम्बद्ध स्रोतका अनुसार राजपाले २ नम्बर प्रदेशमा पाएको ३ मन्त्रालयमा राज्यमन्त्रीसमेत पठाउने गरी ६ जना अध्यक्षहरुले एकएक जना आफू निकटका पठाउने आन्तरिक सहमति गरिसकेका छन्।
राय भन्छन्, ‘पार्टीभित्र बिनाछलफल र जानकारी सोनलजीलाई दलको नेता र मन्त्री बनाइयो। संसदीय दलको नेता छान्ने काममा सबै सासंदको राय लिएर सहमतीमा जान सकिन्थ्यो।’
राजपा अध्यक्ष मण्डलको केही दिनअघि बसेको अनौपचारिक बैठकमा महन्थ ठाकुर, राजेन्द्र महतो र शरदसिंह भण्डारीले एक–एक जना मन्त्री सिफरिस गर्न पाउने तथा महेन्द्र यादव, अनिल झा र राजकिशोर यादवले राज्यमन्त्री मात्र सिफरिस गर्न पाउने मौखिक सहमती भएको थियो। तर, त्यो सहमती महेन्द्र यादव, अनिल झा र राजकिशोर यादवलाई चित्त बुझेको छैन। अहिले भइरहेको विरोधको कारण पनि यही हुन सक्ने राजपा अध्यक्ष मण्डल निकटस्थ स्रोत बताउँछ।
राजपामा विवाद चुलिएकै कारण जनकपुरमा मुख्यमन्त्रीको सपथ समारोहमा ठाकुरबाहेक अध्यक्ष मण्डलका अन्य नेता उपस्थित भएनन्। महेन्द्र यादव नजिकै सर्लाहीमा भएर पनि जनकपुर पुगेनन्। अन्य नेताहरू प्रदेश सरकारको ऐतिहासिक सपथ ग्रहण कार्यक्रममा काठमाडौंबाट जनकपुर नगएको पार्टी सम्बद्ध स्रोत बताउँछ। मुख्यमन्त्रीको सपथमा संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका ठाकुर मात्र सहभागी थिए। नेपाललाइभ बाट साभार










