काठमाडौं- वाम गठबन्धनका प्रमुख दुई नेताले पार्टी एकतामा सहमति जुटाएका छन्।
भक्तपुरको ठिमीस्थित एक व्यवसायीको घरमा 'लन्च मिटिङ' गर्दै आइतबार करिब ४ घन्टा छलफल गरेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी एकतामा सहमति गरेका छन्।
एकीकृत पार्टीको नेतृत्व र सरकारमा आलोपालोको सहमति गरेर एकता प्रक्रियालाई निष्कर्षमा पुर्या उने निर्णय गरेका दुवै दलबीच एकीकृत पार्टीको सिद्धान्तलाई लिएर गतिरोध पैदा भएको थियो। दुवै नेता एमालेको जबज र माओवादीको एक्काइसौं शताब्दीको जनवादलाई समेटेर महाधिवेशनसम्म लैजान सकारात्मक भएका छन्।
स्रोतका अनुसार, पार्टी एकतामा दुई नेताबीच जुटेको सहमतिलाई सोमबार एकता संयोजन समितिको बैठकमार्फत अनुमोदन गराएर निर्णय सार्वजनिक गर्ने सहमति भएको छ। दुवै दल पार्टी एकताका मूलभूत विषयलाई आइतबारको बैठकबाट निर्णय गराई सरकार विस्तारलाई पूर्णता दिन सहमत भएका छन्।
पार्टी एकता गर्ने घोषणा गर्दै चुनावी तालमेल गरेका दुई ठूला वामपन्थी दल चुनावी नतिजा सार्वजनिक भएसँगै एकता प्रक्रियाका विभिन्न विषयमा छलफल गरिरहेका छन्। दुवै दलले एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउन पार्टीका शीर्ष नेतृत्वलाई जिम्मेवारी दिएका छन्।
वाम गठबन्धनका प्रमुख दुई नेताले एकीकृत पार्टीको नाम, नेतृत्व र सरकारमा आलोपालोको सहमति गरिसकेका छन्। निर्णायक वार्ता प्रक्रियामा एमालेले सैद्धान्तिक विषयमा सम्झौता गर्न नसकिने बताएपछि एकता प्रक्रिया अलमलमा परेको थियो।
माओवादीको समर्थनमा नयाँ सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष ओली सैद्धान्तिक विषयमा लचक भएर एकता प्रक्रियालाई टुंगोमा पुर्याउन सकारात्मक देखिएपछि पार्टी एकता प्रक्रियाले पुन: गति लिएको हो।नेपाललाइभ बाट साभार










